मिसेस नेपाल वल्र्डमा मधेशको प्रतिनिधित्व गर्दै माधुरी

काठमाडौँ । पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा मिसेस वल्र्ड नेपालको ग्राण्ड फिनाले आयोजना हुँदैछ । यो वर्षबाट नेपालबाट विजेता हुने सुन्दरीले मिसेस वल्र्डमा सहभागिता जनाउने छन् ।

मिसेस इन्टरनेसनल नेपालसँगै एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।मिसेस नेपाल वल्र्ड २०२१ को ग्राण्ड फिनालेमा माधुरी कर्ण प्रतियोगी नम्बर ७को रूपमा सहभागी भएकी छन् ।

जनकपुरमा जन्मिएकी माधुरी आफूले वीरगन्जको समेत प्रतिनिधित्व गर्ने गरेको बताउँछन् ।समग्र मधेसी महिलाको प्रतिनिधित्व गरेर आवाज बन्ने सोचसहित उनी मिसेस नेपालको प्रतियोगीको रूपमा सहभागी छन् । ‘महिला माथि विभेद हुने गरेको छ । अझ हाम्रो समुदायमा त अवस्था झन् दयनीय छ ।

यही विषयमा म महिलाको आवाज बन्ने सपना बोकेर सहभागी भएकी छु, उनी भन्छिन् ।भारतको बेंगलोरबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी उनी एक प्रतिष्ठित कम्पनीमा व्यवसाय विकास व्यवस्थापकको रूपमा कार्यरत छन् ।परिवारको साथ कै कारण उनी सौन्दर्य प्रतियोगितामा सहभागी भएको बताउँछन् ।

एक महिनासम्म चल्ने प्रतियोगिताको प्रशिक्षणमा सहभागी छन् अहिले उनी । यो प्रशिक्षणले आफूलाई अझ निखार्न सहायता मिलेको उनको बुझाइ छ । उनले आफ्नो जीतका लागि भोट गरेर विजेता बनाउन आग्रह गरेकी छन् ।