अब विस्तारै नेपाली फिल्म सकिन्छ : छविराज ओझा

काठमाडौं : को-रोना महामारी भन्दा अगाडि नेपाली फिल्मलाई हलिउड र बलिउडका फिल्मको मात्र ‘थ्रेट’ थियो। तर, २ वर्षको बन्दाबन्दीपछि नेपाली फिल्मले साउथ फिल्मको पनि डर मान्नु पर्ने अवस्था आएको छ। सस्तोमा साउथ फिल्म को हिन्दी डब पाइने र नेपालमा साउथ फिल्मको ठूलो क्रेज भएकाले अचेल नेपालका वितरकहरु हिन्दी भन्दा साउथ फिल्मको डब किन्न दौडधुप गरिरहेका छन् ।

साउथको हिन्दी डब फिल्म ‘बाहुबली, केजिएफ, पुष्पा, साहो’ ले नेपालमा गरेको व्यापार हेर्दा अब नेपाली फिल्मलाई बलिउड र हलिउडका फिल्मभन्दा साउथ फिल्म ‘थ्रेट’ बन्नेछ। वर्षमा तमिल, तेलुगू, मलालयम, कन्नड लगायतका भाषामा सयौं फिल्म निर्माण र प्रदर्शन हुने गर्छन् । ती सबै फिल्ममा चलेका कलाकारहरुको अभिनय हुन्छ भने सबै फिल्म हिन्दीमा डबिङ हुने गरेका छन् ।

साउथमा बन्ने सबै फिल्मको हिन्दी डब नेपाल आउने हो भने नेपाली फिल्म यूट्युबमै सीमित हुनुपर्नेछ । आफ्नै देशमा बन्ने नेपाली फिल्म पाखा पाग्ने अवस्था आए पछि फिल्मकर्मीहरुले अब नेपाली फिल्म सकिएको टिप्पणी गर्न थालेका छन् । बाघ निर्माताको रुपमा चिनिने छविराज ओझाले एक अन्तर्वार्तामा को-रोनापछिको सिनारियो हेर्दा अब नेपाल फिल्म सकिन लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘लकडाउन पछाडि नेपाली फिल्मको सिनारियो हेर्ने हो भने अब नेपाली फिल्म विस्तारै विस्तारै सकिएकै हो। पहिला हामी सलमान खान, शाहरुख खान, आमिर खानको फिल्मसँग भाग्नु पर्थ्यो तर अहिले अंग्रेजी र डब फिल्मसँग भाग्नुपर्ने अवस्था आएको छ । नेपालमा धेरै विदेशी फिल्म आउन थालेपछि नेपाली फिल्मले शो पाउँदैन । अनि, सकिएन नेपाली फिल्म ?’