गुण एयरलाइन्सद्वारा काठमाडौंबाट सुर्खेतको लागि नियमित उडान सुरु

काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौंबाट सुर्खेतको लागि नियमित हवाई उडान सुरु गरेको छ । गुण एयरलाइन्सले आज (पौष १८/आइतबार) बाट काठमाडौंबाट सुर्खेतको लागि नियमित हवाई उडान सुरु गरेको हो । गुणले सुर्खेतको लागि सुरुवातमा दैनिक एक उडान गर्ने भएको छ ।

दुई वटा अमेरिकी विचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको गुण एयरलाइन्सले यस अघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान सुरु गरिसकेको छ । यसका साथै गुणले पोखराबाट नेपालगञ्ज भैरहवा र भरतपुरमा समेत दैनिक उडान गरिरहेको छ ।

यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने गुण एयर लाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए । त्यस्तै गुणस्तरीय हवाइ सेवा दिनका लागि सोही अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रतिस्पर्धामा आफूहरु पनि गइरहेको र सोही अनुरुपको उच्चस्तरको सेवा दिदै उडान गरिरहेको उनले बताए । उडानको सुरूवात देखिनै गन्तव्यहरुमा यात्रुहरुबाट राम्रो साथ पाएको र यसबाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको उनको भनाइ छ ।