प्रचण्ड परिवारबाट चार जना केन्द्रीय सदस्य

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महा धिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् । आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् ।२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका ४ जनालाई केन्द्रीय समितिमा अटाएका छन् ।

उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुषतर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन्। त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहाललाई प्रचण्डले खसआर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले अध्यक्ष सहितका पदाधिकारीको चयन गर्ने जनाइएको छ । आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।