थुनामा रहेका इच्छाराजको सुन्धाराको सीटीसी मल लिलामी विक्रिमा, कति हो दाम ?

काठमाडौँ — कर्मचारी सञ्चय कोषले सुन्धारास्थित सीटीसी मलको मूल्याङ्कन थालेको छ । कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलकाे स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि भन्दै सीटीसी मलको मूल्याङ्कनथालिएको हो ।

तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालि नाममा कोषबाट मल धितो राखी ऋण लिएका थिए । तामाङले लिएको कर्जा रकम भने कोषले खुलाएको छैन ।‘कोषको सञ्चालक समितिले स्वतन्त्र विज्ञमार्फत मूल्याङ्कन गर्ने निर्णय गरेको छ,’ स्रोतले भन्यो, ‘यसको सबै प्रक्रिया पुरा भएको छ अब छिट्टै काम थाल्छौं ।’

चलनचल्तीमा धितोको मूल्य पत्ता लगाउन मूल्याङ्कन थालिएको कोषले जनाएको छ । मूल्याङ्कन पुरा भएपछि कानुन बमोजिम धितो लिलामीका लागि सूचना जारी गरिने स्रोतले जनाएको छ ।कोषले गत मंसिर ६ मा ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो ।

यही पुस १० मा उक्त म्याद सकिएको छ । स्रोतका अनुसार सीटीसी मल खरिदका लागि धेरैले इच्छा देखाएका छन् । यसकारण उक्त मलको अहिलेको बजार मूल्य निकाल्न लागिएको हो ।अब सुन्धारास्थित मलकाे ६ रोपनी जग्गा र सोमा निर्माण भएको पसल कवलहरू लिलामीमार्फत बिक्री गरी असुल गरिने कोषले जनाएको थियो ।

उक्त धितो लिलामीबाट सम्पूर्ण ऋण रकम र अन्य रकम अशुल उपर नभएमा कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल,अचल सम्पत्तिबाट असुल उपर गरिने पनि कोषको भनाइ छ ।तामाङ अहिले पनि थुनामा छन् । सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको हो ।

तामाङ उक्त सहकारी संस्थाका सल्लाहकार हुन । उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।कान्तिपुर