सम्पदामा बतास समूहको व्यापार, एकाधिकार र भ्रष्टाचार

काठमाडौं । चौतर्फी विरोध र आलोचनापछि नारायणहीटी दरबार संग्रहालय परिसरमा बतास कम्पनीले बनाउँदै गरेको रेष्टुरेन्ट भत्काउन थालिएको छ । संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय खारेज गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ ।

तर, ऐतिहासिक सम्पदामा क्षति पु¥याउन खोज्नेमाथी कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न कायमै छ । तीन दिन अघिको काठमाडौं दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयको अबस्था यस्तो थियो ।भावी पुस्ताका लागि संरक्षण गरेर राख्नुपर्ने ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निमार्णका काम धमाधम भइरहेको थियो ।तर, शुक्रबारको अवस्था फरक छ, अब ती संरचना भत्काउन थालिएको देख्न सकिन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको निर्देशनमा तत्कालका लागि निर्माण कार्य रोकिएको हो । दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा सरकारले छानबिन गर्न समिति गठन त गरिसकेको छ, तर नारायणहिटी पसेको बतास कम्पनी सधैंका लागि त्यहाँबाट निस्कने हो वा होइन भन्ने निश्चित छैन ।

नेपालको राजसंस्थाले दशकौंसम्म बसोबास गरेको स्थल हो नारायणहिटी । त्यो नेपालको इतिहास बोकेको सम्पदा हो । यस्तो स्थललाई अघिल्लो सरकारकै पालामा अमुक व्यापारीका लागि नाफामूलक प्रयोजनमा दिएकोमा सर्वत्र आलोचना भइरहेको छ ।मन्त्री आले भने विगतको निर्णय खारेज गर्ने पक्षमा दृढ देखिएका छन् ।

राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर बतास समूहले अन्य सांस्कृतिक एवं सम्पदा क्षेत्रमा पनि आफ्नो प्रभुत्व जमाइसकेको छ । पशुपति क्षेत्रमा भारत सरकारले बनाइदिएको धर्मशाला पनि बतास समूहले भाडामा लिएर चलाइरहेको छ ।तीर्थालूलाई सर्वसुलभ होस् भनेर बनाइएको धर्मशाला थ्रीस्टार होटल सरह बनाइएको छ ।

प्रमुख पर्यटकीय शहर पोखरामा पनि बतास समूहले सम्पदामाथि पकड जमाएको छ । नयाँ बजारमा रहेको प्रदेश संग्रहालयको स्वामित्वमा रहेको व्यवसायिक सटर सम्झौता अवधि सकिएको एक वर्ष भइसक्दा पनि उसले छोड्न मानेको छैन ।पोखरा महानगरले सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्न बतास समूहलाई दिन लागेको छ ।

तनहुँको सेल्फीडाँडाका रूपमा चर्चित मानहुँकोट ५० वर्षका लागि ‘लिज’ मा लिन बतास समूहले व्यास हिल्स प्रालि खडा गरेको छ ।यो कम्पनीसँग सम्झौता गर्न व्यास नगरपालिकाले अध्ययन प्रक्रिया अगाडि बढाएको छ । ललितपुरको प्रमुख पर्यटकीय गन्तब्यस्थल पाटन दरबार स्वायरकै स्वामित्वमा रहेको कोट पार्टीका ३३ वटा कौलमध्ये बतास समूहले १८ वटामा बतास समूहले प्रभाव जमाइसकेको छ ।