महाकालीको पानी आएपछि किसानले फलाए आलु

बैतडी । खेती किसानी गर्न आकासको पानीको भर पर्दा सधैं बाँझो रहने खेतमा अहिले महाकालीको पानी कलकल बगिरहेको छ । बाँझो खेतमा महिलाले मेहनत गरेर गोठेमलको प्रयोग गरेपछि पहिलो पटक ४० क्विन्टल आलु फलेको छ । स्थानीय सरकारले महाकालीको पानी तान्न १५ लाख रुपैयाँको लिफ्ट सिँचाई योजना बनाएपछि बैतडीको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीका महिलाले आलुखेती गरेका हुन् ।

दशरथचन्द नगरपालिका र रुडेस/अक्सफामको सहयोगमा बनेको लिफ्ट सिँचाई योजनाले बैतडीको तिरखडेनी गाउँ अहिले हराभरा भएको स्थानीय महिला किसान शान्ति बुडालले बताउनुभयो । ‘गोठेमल प्रयोग गरेर गाउँमा पहिलो पटक हामीले ४० क्विन्टल आलुको बिउँ रोप्यौँ’, शान्ति बुडालले भन्नुभयो, ‘युरिया, मलखाद र विषादीको प्रयोग नगरी आलु फलाएका छौँ ।’

कृषि ज्ञान केन्द्र बैतडीले महिलालाई सामूहिक तरकारी खेती गर्न ४० क्विन्टल आलुको बिउँ दिएको थियो । गाउँमा पहिलो पटक महिलाले व्यवसायिक आलुखेती सुरु गरेको कृषि प्राविधिक ललिता जोशीले बताउनुभयो । गतवर्ष छेउमै बगिरहेको महाकाली नदीको पानी लिफ्ट गर्न दशरथचन्द नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । रोपेको तीन महिना नपुग्दै आलु फलेपछि पुस २२ गतेदेखि आलु खन्न सुरु गरेको स्थानीय किसान कौशा बुडालले बताउनुभयो ।

यसअघि भारतीय बजार झुलाघाट गएर तरकारी किन्दै आइरहेको सम्झना गर्दै प्रताप बुढालले अब त्यो समस्या टरेको बताउनुभयो । ‘महाकालीबाट लिफ्ट सिंचाई योजना बनेपछि गएको एक वर्षदेखि हामीले बजारबाट तरकारी किनेका छैनौं’, उहाँले भन्नुभयो, ‘बरु अहिले बजारमा तरकारी बिक्री गरिरहेका छौँ ।’ गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेख्नु भएको छ ।