‘पृथ्वीनारायण दक्षिण एसियाकै दूरदर्शी राजा’

घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्। यो उदगार हो, नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीरानायण शाहको। पृथ्वी जयन्तीको अवसरमा अहिले पनि उतिकै समसायिक यस उदगारका उदगारकर्ता पृथ्वीरानारायण शाहको सम्झनामा सोमबार भक्तपुरमा भव्य कार्यक्रम गरिएकाे छ।

पृथ्वीनारायण साहको इतिहास तथा एकीकरण मार्ग विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा भक्तपुरको सूर्यविनायक व्यारेक गण इन्द्रबक्स गणका क्याप्टेन शुशिल खनालले पृथ्वीनारायण शाहका विविध विषयमा चर्चा गरे। उनले पृथ्वीनारायण शाह नेपालको मात्रै नभई दक्षिण एसियाकै दूरदर्शी राजाको रुपमा गणना हुने गरेको चर्चा गरे।

जिल्लाको एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा भएको कार्यक्रममा स्कुलका कक्षा ९ का एक सय आठ जना विद्यार्थी सहभागी गराइएको थियो। प्रवचनपछि विद्यार्थीसँग प्रश्न/उतर कार्यक्रम पनि भएको थियो। मंगलबार ३०० औ पृथ्वी जयन्ती हो ।यही अवसरमा कार्यक्रम गरिएको हो।

हरेक वर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइन्छ। यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ।

आजभन्दा लगभग ३०० वर्षअघि बाइसे–चौबिसे राज्यहरुका रुपमा नेपाल एउटा विभाजित अनि ससाना राजारजौटाको देश थियो। यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो, जहाँको राजपरिवारमा पृथ्वीनारायण शाहको जन्म भएको हो। आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै राजालाई मानिन्छ।

विक्रम सम्वत् १७७९ अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वीनारायण शाहको जन्म भएको हो। उनैले नै आधूनिक नेपालको खाका कोरेका हुन्। पृथ्वीनारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालीन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो।