कम्पनी टाट पल्टिएपछि २१ बेडरुम भएको विलासी घर सस्तो मुल्यमा बिक्री

अमेरिकाको सबैभन्दा महँगो घरको मूल्य अघिल्लो वर्षको तुलनामा अब निकै कम भएको छ । २१ बेडरुम भएको यो विलासी घरको मूल्य अब २०५ मिलियन डलर अर्थात् २४ अर्ब रुपैयाँ भएको छ ।

यसअघि यो घरलाई २९५ मिलियन डलर अर्थात् ३४ अर्ब रुपैयाँमा बिक्रि गर्न चाहन्थे ।‘द सन’ मा छापिएको एक खबर अनुसार यो शानदार घर बनाउन अर्बौँ रुपैयाँको खर्च भएकमो छ । यो अहिले पनि पूर्ण रुपमा बनेको छैन । तर कम्पनी टाट पल्टिएका कारण यसलाई बेचिँदैछ ।

हलिउड निर्माताबाट डेभलपर बनेकी निल नियामीले सात वर्ष अघि यो घरको निर्माणका लागि ६ सय कर्मचारीलाई काममा राखेकी थिइन् ।अघिल्लो वर्ष जनवरी महिनामा यसलाई लिलाम गर्नका लागि सुचिबद्ध गरिएको थियो । तर पछि घरलाई बिक्रिको सूचीबाट हटाइएको थियो ।

तर अब घरका मालिक ऋणमा डुबेका कारण एकपटक पुनः यसलाई कम मूल्यमा बेच्ने निर्णय गरिएको छ ।क्यालिफोर्नियाको पहाडी इलाकामा बनेको यो घरको नाम ‘द वान’ हो । यो १० हजार वर्ग फिटमा फैलिएको छ । यो घरमा २१ बेडरुम, चार स्विमिङ पुल,

४५ सिट भएको सिनेमा हल, ३० वटा कार राख्न मिल्ने ग्यारेज, दौडनका लागि रनिङ ट्र्याक, एउटा इन्डोर स्पा, एउटा ब्यूटी सैलुन बनाइएका छन् । यो घर चारैतिरबाट खुल्ला छ, यहाँबाट पूरा शहरको रमणीय दृश्य देख्न सकिन्छ । यो घरका छिमेकीमा हलिउड स्टार पनि छन् ।

नियामीले भनेकी थिइन्, ‘यदि तपाईंसँग मोनालिसाजस्तो कुनै दुर्लभ चिज भएको भए तपाईं कुनै पनि मूल्यमा त्यो बेच्न सक्नुहुन्छ ।’ तर उनको सवालमा यस्तो हुन सकेन । उनले आफ्नो यो आलिशान घरलाई कम मूल्यमा बेच्नु परिरहेको छ ।