बनभोजको एउटा बोलीले बन्यो १४ करोडको वृद्धाश्रम

शिवका अनन्य भक्त ललितपुरको पूर्णचण्डीका अष्टमान महर्जन प्रत्येक दिन बिहानै पशुपतिको दर्शन गर्न पुग्थे। सोमबार व्रत बस्ने उनी पशुपति जाने क्रममा त्यहाँको वृद्धाश्रममा रहेका आमाबुवाका दुःखका कथाले द्रवित हुन्थे।

उनलाई पनि आफूसँग भएको केही पैसाले वृद्धाश्रम बनाउँदा साँच्चै नै पुण्य हुने जस्तो लाग्थ्यो। जीवनको उत्तरार्धमा अनाथ र बेसहारा भएका वृद्धवृद्धालाई आहारा र सहारा दिन सकिए ठूलो पुण्य हुने थियो भन्ने उनी सुनाउँथे पनि। तर, के कसो गर्ने केही थाहा थिएन।

दश वर्षअघि माघको एक चिसो दिन ‘ज्यापू समाज यल’ले गरेको वनभोज कार्यक्रममा अष्टमान पनि सहभागी थिए। कार्यक्रममा सबैलाई आश्चर्य पार्दै उनले घोषणा गरे- म वागडोलको १ रोपनी १३ आना जग्गा र ५० लाख रुपैयाँ वृद्धाश्रमका बनाउन दान दिन्छु।

उनको घोषणाले सबै खुशी भए। पररर ताली बज्यो। उनलाई जग्गादान गर्ने ठूलो इच्छा थियो। तर, दान दिनेबारे कसैलाई केही भनेका थिएनन्। “जग्गा दान दिन्छु भनेर आएको दिन उहाँलाई आत्मसन्तोष भएछ। बल्ल ढुक्क भएँ भन्नुभयो,” अष्टमानका जेठा छोरा किरण महर्जनले सुनाए।

एउटा वृद्धाश्रम बनाउने मन छ भनेर बुवाले आफूलाई भनेको किरण बताउँछन्। उनले वृद्धाश्रम बनाउने रहर गरे पनि त्यसको दीगो व्यवस्थापन गर्न परिवारले सक्ने कुरा थिएन। त्यसैले आफ्नो सपनालाई जिम्मेवार संस्थाले सम्हालोस् भनेरै अष्टमानले ‘ज्यापू समाज यल’लाई जमिन र पैसा दान गरे। महर्जन परिवारले २५ भदौ २०६८ मा ज्यापू समाजलाई जग्गा र पैसा हस्तान्तरण गर्‍यो।

अष्टमानको उदारमनबाट बन्ने वृद्धाश्रमलाई ‘ज्यापू समाज ज्येष्ठनागरिक आनन्द निकेतन’ नामकरण गरियो। ५ फागुन २०६९ मा भवन शिलन्यास भयो। भवन निर्माणको कामको रेखदेख गर्न उनी दैनिक निर्माणस्थलमा आउँथे। घर पनि ५० मिटरकै दूरीमा थियो।

“दिनमा एक पटक आएर काम नहेर त बुवालाई चित्तै बुझ्दैनथ्यो,” किरण सम्झन्छन्, “बुवालाई कहिले भवन बन्ला र वृद्धवृद्धा बस्लान् जस्तो लागेका थियो।”अष्टमानलाई ‘आनन्द निकेतन’प्रति कति लगाव थियो भने उनी स्वयंले भवनको डिजाइन, स्वरुप र भवनमा हुनुपर्ने सेवासुविधाबारे सुझाव दिने गर्थे।

वृद्धवृद्धा बसेपछि आफू दैनिक आएर गफ गरी समय बिताउने उनको योजना थियो। तर, उनको रहर पूरा हुन सकेन। दुवै मिर्गौलाले काम नगरेको दुई वर्ष भइसकेको थियो। गत जेठमा ७७ वर्षको उमेरमा संसार छाडे। उनको सपनाको आनन्द निकेतन वृद्धाश्रम आज सुव्यवस्थित बनिसकेको छ।

अबको एक महीनामा एक सयभन्दा बढी वृद्धवृद्धाले जीवनको उत्तर्राद्धको समय यही बिताउन पाउने छन्। “२०७२ सालको भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकियो,” ज्यापू समाजका उपाध्यक्ष वीरबहादुर महर्जनले भने, “काम नरोकिएको भए उहाँले आफ्नै हातबाट भवनको उद्घाटन गर्न पाउनु हुन्थ्यो।”

उपाध्क्ष महर्जनका अनुसार अष्टमान रोगले थलिएपछि उनको सम्मान स्वरुप निर्माण पूरा भएको एकतले भवनको उद्घाटन गराउने योजना बनाइएको थियो। तर, कोरोनाभाइरसको महामारीले त्यो योजना पनि पूरा हुन पाएन। “समाजमा केही सहजता र परिवर्तन ल्याउन अष्टमान जस्ता दानवीर र मनकारी व्यक्ति चाहिँदो रहेछ,” महर्जन भन्छन्।

उनले वृद्धवृद्धाको उपकार गर्न भनेरै दान गरेको ५० लाख बाहेकको १ रोपनी १३ आना जमिनको आजको मूल्य झण्डै ८ करोड पर्छ। करोडौंको सम्पत्ति दान गरेका अष्टमानको निर्णयमा परिवारले पनि गौरवान्वित छन्। छोरा किरण भन्छन्, “दान गरे पनि हामी सबैलाई गरिखाने बाटो बनाइदिएर जानुभयो।

समाजको लागि पनि सोच्नुभयो। बुवा हाम्रो प्रेरणा नै हो।” आखिर एक दिन सबैले रित्तो हात संसार छाड्नुपर्छ। बाँच्नलाई छानो, कपडा र दुई छाक खान पुगेको बताउने किरणका अनुसार बुवाको दानले परिवारका सबै सदस्यालाई आत्मसन्तोष मिलेको छ।

“घर परिवारमा शान्ति छ। पेशा व्यवसाय चलेकै छ। कमाएको सबै पैसा पनि लिएर जाने हैन,” उनले भने। भूकम्प र कोरोना महामारीले काम रोकिएका कारण अष्टमान जिउँदैछदा वृद्धाश्रम तयार गर्न नसकिएकोमा कोषाध्यक्ष बालकृष्ण महर्जन पनि पछुतो लागेको बताउँछन्। 

साथै, ५० लाख रुपैयाँले काम थालेको ज्यापू समाजलाई निर्माण सम्पन्न गर्न चुनौती थियो। सबै समस्या झेलेर ज्यापू समाजले वृद्धाश्रम तयार गरेकोमा अष्टमानका छाेरा किरण प्रफुल्ल छन्। “बुवाको सपनालाई आफ्नै कर्म मानेर ज्यापू समाजले स्रोतको खोजी गर्‍यो। आनन्द निकेतन खडा हुनुको श्रेय बुवा र समाज दुवैलाई जान्छ,” किरण भन्छन्।

१४ करोडको भवन– ज्यापू समाजसँग अष्टमानले दान गरेको जमिन र ५० लाख रकम त थियो। तर, त्यति धेरै जग्गामा अष्टमानले चाहेजस्तै सुविधासम्पन्न भवन बनाउन अरु लागत चाहिन्थ्यो। समाजले थालेको पवित्र काममा पक्कै पनि सहयोगी हात भेटिनेछन् भन्ने आशमा संस्थाले काम गर्दै गयो।

आनन्द निकेतन भवन निर्माणका लागि विभिन्न संस्था र मनकारी व्यक्तिले सहयोग गर्न थाले। सबैभन्दा पहिला ललितपुरका ४० टोल रहेको ‘ज्यापू समाज यल’का सदस्यले क्षमता अनुसार आर्थिक सहयोग गरे। “कतिले त पैसा मात्र नदिएर श्रमदान गर्छु भनेर पनि आए,” कोषाध्यक्ष महर्जन भन्छन्, “निर्माणको सबै कामको ठेक्का दिइएकाले श्रमदान भने लिएनौं।”

सुविधासम्पन्न वृद्धाश्रम निर्माण गर्न थप सहयोगका लागि पहल थालियो। भारतीय राजदूतावासले पाँच करोड, बागमती प्रदेश सरकारबाट तीन करोड र ललितपुर महानगरपालिकाबाट एक करोड सहयोग आयो। त्यस्तै, अन्य विभिन्न संस्था, व्यापारी तथा ललितपुरका मनकारी टोलवासीले पनि सहयोग गरे।

आज एक सय १० जना वृद्धवृद्धाको व्यवस्थित जीवनयापनका लागि १४ करोड रुपियाँ खर्चमा आनन्द निकेतन भवन निर्माण सम्पन्न भएको छ। कोषाध्यक्ष महर्जन भन्छन्, “यसरी सबैको सहयोगमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न् होटलसरहको सुन्दर भवन निर्माण भएको छ। वृद्धावृद्धाले घर पाउने भएरै यो पवित्र काम गर्दा आत्मसन्तुष्टि मिलेको छ।”

अष्टमानको सपना ‘आनन्द निकेतन’– मल्लकालीन निर्माणमा प्रयोग हुने ‘दाची अप्पा’ को आवरण सहितको भवनमा भजन कीर्तन, योग र ध्यानका लागि प्रत्येक तलामा हल तथा कोठाको व्यवस्था गरिएको छ। पढ्नको लागि पुस्तकालयको व्यवस्था गरिएको छ भने वृद्धवृद्धाको स्वास्थ्य सेवाको लागि २४ सै घण्टा पोलिक्लिनिक सुविधा गरिएको छ।

संस्थाले आफ्नै एम्बुलेन्सको पनि व्यवस्था गरेको छ भने भवन अपाङ्गतामैत्री स्वरुपमा बनाइएको छ। वरपर हरियाली बगैंचा पनि छ। मात्र बगैंचामा रोपिएका फूलहरु हुर्कन र फक्रन बाँकी छन्। अष्टमानले ज्येष्ठनागरिक भवनको यस्तै परिकल्पना गरेका थिए। जुन परिकल्पना अहिले वास्तविकता बनेको छ।

“महीना दिनमा यहाँ आमाबुवा बस्नुहुन्छ। त्यसपछि यसको रौनक झनै बढ्छ,” महर्जनले भने। उनले देशभरिका प्राथमिकतामा परेका ज्येष्ठनागरिकका लागि आनन्द निकेतनको ढोका खुला रहने बताए। पाहुना कोठा, योग हल, भजन हल, पुस्तकालय, क्लिनिकका लागि पनि छुट्टाछुट्टै कोठा छन्।

भवन अगाडि एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। अपाङ्गतामैत्री संरचनासँगै पाँचतले भवनमा लिफ्टको व्यवस्था पनि छ। सन्तुलित खानाका लागि क्यान्टिन तथा चौबीसै घण्टा चिकित्सक र नर्सको व्यवस्था गर्न लागिएको छ। स्थानीय तहको सिफारिशमा वृद्धवृद्धा निःशुल्क बस्न पाउँनेछन्।

साथै, शुल्क दिएर बस्न चाहनेहरूका लागि पनि आवश्यक व्यवस्था गरिएको छ। समाजले बालबालिकाको ‘डे केयर’ जस्तै ज्येष्ठ नागरिकका लागि दिवा सेवा सुविधा उपलब्ध गराउने भएको छ। “दिनभरि छोराछोरी काममा जान्छन्। घरमा वृद्धवृद्धा एक्लै हुन्छन्।

यस्तो वेला यहाँ आएर गफगाफ गर्दै अन्य क्रियाकलापमा सहभागी भएर दिन बिताउन सकिन्छ,” कोषाध्यक्ष महर्जनले भने, “दिवा सेवाको लागि गाडीको व्यवस्था गरिनेछ।” आनन्द निकेतनमा विदेशमा रहेका केही ज्येष्ठ नागरिकले पनि चासो व्यक्त गरेको उनी बताउँछन्।

“बुढ्यौलीमा नेपालमै उचित स्यहारसुसार पाइन्छ भने नेपालमै आउने भनेर दुई-चार जना साथीभाइले भनिरहनु भएको छ,” महर्जनले सुनाए। नेपालमा वृद्धाश्रमको संख्या बढ्दै जानुलाई उनी बदलिँदो समाजिक संरचना अनुसारको आवश्यकता ठान्नुपर्ने बताउँछन्।

ज्यापू समाजका उपाध्यक्ष भन्छन्, “अब यहाँ वृद्धवृद्धाले गाह्रोसाह्रोमा जीवन बिताउन पर्नेछैन, यहाँ आएर सजिलोसँग बस्न पाउनुहुनेछ। जुन अष्टमान बाजेको सपना थियो।” अनिता भेटवाल/हिमालखबर