एमालेको नयाँ कीर्तिमान

प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।

त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका सबै बैठकमा अवरोध गरिरहेको छ ।

बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३ दिन पुगिसकेको छ । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्। विघटनपछि पुनःस्र्थापित प्रतिनिधि सभाको नवौँ र १०औँ अधिवेशनमा पनि एमालेको अवरोध जारी छ ।

दलले कारबाहीका लागि पत्राचार गरेका सांसदबारे निर्णय नभएको विषयमा एमाले आन्दोलित छ। सभामुखको निष्पक्षतामा समेत प्रश्न उठाइरहेको एमालेले नवौं र १०औं अधिवेशनका कुनै पनि बैठक अवरोधरहित सञ्चालन हुन दिएको छैन । यसबीचमा १५ बैठकमा एमालेले अवरोध गरेको छ।

प्रतिनिधि सभाका पछिल्ला तीन बैठक सूचनाद्वारा स्थगित भएका छन् ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूका माग यथावत् रहेकाले अवरोध कायमै रहने बताउँदै भन्नुभयो, “हामा माग यथावत् छन् । हामीले उठाएका विषयमा सुनुवाइ भएको छैन । विरोधको कार्यक्रम यथावत् नै रहन्छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।