सवा १ घन्टामै पौने ६ अर्बको हाराहारीमा कारोबार, २०.६८ अंकले बढ्यो बजार

काठमाण्डौ । साताको पहिलो सेयर बजार खुलेको सवा १ घन्टामै पौने ६ अर्ब रुपैयाँबराबरको कारोबार भइसकेको छ। यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत २०६ कम्पनीका १ करोड २६ लाख ७२ हजार ५८५ कित्ता सेयर ५ अर्ब ६८ करोड १४ लाख ६३ हजार ७६८ रुपैयाँमा किनबेच भएको छ।

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा मात्रै रातो पोतिएको छ। यी समूहमध्ये जीवन बीमा समूह सर्वाधिक २३३.७४ अंकले उकालो लागेको छ भने लघुवित्त समूह २६.३५ अंकले ओरालो गेको छ। यो अवधिमा बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ।

अहिलेसम्म यो कम्पनीको २२ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ। अहिलेसम्म ९ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। नेपाल हाइड्रो, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रोपावर, लक्ष्मी विकास बैंक, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, ज्योति विकास बैंक र युनियन हाइ«ोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

माउन्टेन हाइड्रोपावरको सेयरभाउ भने ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। यो बेलासम्म नेप्से परिसूचक २०.६८ अंकले बढेर २८६३.०७ मा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५७ अंकले बढेर ५०७.२७ को विन्दुमा उक्लिएको छ।