एकीकृत समाजवादीमा मन्त्री छान्न सकस, मन्त्री कोटा ६ आकांक्षी १० जना [नाम सहित ]

काठमाडौं– माधव नेपाल नेतृत्वको नव गठित पार्टी नेकपा (एकीकृत समाजवादी) मा मन्त्री छान्न सकस पर्ने देखिएको छ । नेकपा एकीकृत समाजवादीबाट गठबन्धन सरकारको मन्त्री बन्न सांसदहरुबीच दौडधूप शुरु भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा गएपछि मात्रै पदाधिकारी चयन र संगठन विस्तारमा जुट्ने तयारीमा रहेको एसपाको भागमा बढीमा ६ जना मन्त्री हुनेछन् । प्रधानमन्त्री देउवाले नेपाललाई ६ मन्त्री दिएर आवश्यक परे दुई मन्त्रालय थप्न सकिने बताएपछि पार्टीभित्र मन्त्री बन्ने दौडधुप तीव्र भएको छ ।

मन्त्री बन्ने दौडमा वामदेव गौतम पत्नी तुलसा थापादेखि सांसद नभएका नेताहरु समेत रहेको स्रोतले जानकारी दिएको छ । एकीकृत समाजवादी पार्टीमा कलम चिन्ह लिएर स्वतन्त्र हैसियतमा राष्ट्रियसभा सदस्य जितेका खिमलाल देवकोटा पनि मन्त्रीका आकांक्षीमध्ये एक हुन् ।

विषय अवस्थामा एमाले नेता रामबहादुर थापा ‘बादल’ लाई हराएकाले यस पटक आफूले मन्त्री बन्न पाउनु पर्ने दाबी उनले गरेका छन् । बेदुराम भुसाल, २०४८ सालमै सांसद भएका विरोध खतिवडा र पुराना नेता मुकुन्द न्यौपानेले पनि यस पटक मन्त्री बन्ने इच्छा देखाएको जनाइएको छ ।

नयाँ पार्टी निर्माणका क्रममा माधव नेपाललाई नजिकवाट सहयोग गरेका मेटमणि चौधरी, केपी ओली समूह छाडेर पछिल्लो दिन नेपालतिर खुलेका प्रेम आले र किसान श्रेष्ठ पनि मन्त्रीको दौड छन् ।एमाले विभाजनमा बलियो साथ दिएकी तेस्रो पुस्ताकी नेतृ रामकुमारी झाँक्री पनि मन्त्रीको लाइनमा रहेको स्रोतले जानकारी दिएको ।

झाँक्री स्वयंले पनि नेपाल समक्ष मन्त्री बन्ने इच्छा देखाएकी छन् । सुदूरपश्चिमबाट निरादेवी जैरुले मन्त्री बन्न पाउनुपर्ने दावी गरेकी छन् । दलितबाट मन्त्री बन्न पाउनुपर्ने भन्दै पार्वती विशंखेले लविङ गरिरहेको ती नेता बताउँछन् । सांसदसँगै केही केन्द्रीय सदस्यलेसमेत मन्त्री पदमा आकांक्षा देखाएका छन् । नेपालले बनाउनेबारेमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।