भारतीय समूहले बेच्यो पोखराको मणिपाल अस्पताल

पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ ।२०५१ सालमा अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले विक्री गरेको असपताल पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् ।

उनीहरुले कलेजमा ६० प्रतिशत बतास र ४० प्रतिशत अटोवेज समूहले ३ अर्ब ५० लाख रुपैयाँमा मणिपाल कलेज किनेका हुन ।मणिपाल नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालनमा आएको शिक्षण अस्पताल हो । भारतीय लगानीमा पोखराको एक पाखोमा खुलेको मणिपालसँगै त्यो क्षेत्रमा विकासको ढोका पनि खुलेको थियो ।

४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शय्याको अस्पतालको अनुमति लिएको छ ।मेडिकल कलेजमा अहिले १ सय विद्यार्थीले एमबीबीएस अध्ययन गरिरकेका छन् । मणिपालमै बीएस्सी नर्सिङ, स्टाफ नर्ससमेत पढाइ हुँदै आएको छ । मणिपालमा भारतदेखि धेरै विद्यार्थी एमबीबीएस अध्ययन गर्न आउने गरेका छन् ।

भारतका विभिन्न ठाउँमा मणिपाल अस्पताल चलाइरहेको समूहले पोखरामा मेडिकल चलाएर विकाससँगै ठूलो रोजगारी पनि सिर्जना गरेको थियो । मणिपालमा ११ सय भन्दा बढीले रोजगारी पाएका छन् ।मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोडभन्दा तिर्न बाँकी रहेकाले उक्त दायित्वसमेत सकारेर खरीद गर्ने सहमति भएको हो ।

खरीद सम्झौता पूरा भई स्वामित्व लिइसकेपछि अस्पताल सञ्चालक समितिमा चारजना रहने सहमति भएको छ । कलेज सञ्चालक समितिमा बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष र अटोवेज ग्रूपका प्रबन्ध निर्देशक नारायण पौडेल उपाध्यक्ष रहनेछन् ।

यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास र निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रूपमा रहने आन्तरिक सहमति भएको छ ।मेडिकल कलेजसहित हस्पिटलको सम्पूर्ण सम्पत्तिको स्वामित्व खरीद भएको छ । आफ्नै स्वामित्वको ४० रोपनी जग्गा र लिजमा लिइएको १६० रोपनीसहित २०० रोपनी जग्गामा हस्पिटल तथा मेडिकल कलेज सञ्चालन भइरहेको छ ।