मेयरलाइ फोहोर उपहार

काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ ।

युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् ।जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् ।

सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।उता काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएको छ ।

नेपाल सरकारले नुवाकोटको सिसडाेल (बञ्चरेडाँडा) मा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै शाक्यले बाटो बनाइदिन प्रधानमन्त्रीलाई पत्र लेख्नुभएको हो ।

मेयर शाक्यले पत्रमा लेख्नुभएको छ, ‘नेपाल सरकारबाट काठमाण्डौ उपत्यकाको फोहरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानीटरी ल्यान्डफिल साइटको अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र त्यो ल्यान्डफिल साइटमा पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेको कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अवरोध पुगेको छ ।

यस अवस्थामा तत्काल बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट र त्यो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण गरी गरिदिनु हुने अनुरोध गर्दछ ।’अहिले काठमाण्डौ महानगरपालिकाबाहेक २० भन्दा बढी पालिकाबाट उत्सर्जन हुने फोहरको अन्तिम जिम्मेवारी काठमाण्डौ महानगरपालिकाबाट हुँदै आएको छ ।