कतार प्रहरीमा भर्ना प्रक्रिया म्यानपावर कम्पनीबाटै गराउन निर्देशन

काठमाडौँ । श्रम मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले कतारको प्रहरी सेवामा म्यानपावर कम्पनीबाटै नेपाली कामदार भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन दोहास्थित दूतावासलाई निर्देशन दिएका छन् ।

कतारको प्रहरी सेवामा भर्नाका लागि माग आए पनि कुन कानुनमा टेकेर पठाउने भन्ने विषयमा निर्णय हुन सकेको थिएन । ‘नेपाल–कतार श्रम सम्झौता, वैदेशिक रोजगारसम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, कतारको सैन्य सेवा कानुनबमोजिम कतार प्रहरीमा भर्ना गर्दा प्राप्त हुने सेवा,

सर्त र सुविधाका आधारमा माग पत्र प्रमाणीकरण गर्न दूतावासलाई निर्देशन दिने गरी भदौ ८ मा मन्त्री स्तरीय निर्णय भएको व्यहोरा अनुरोध छ,’ श्रम मन्त्रालयद्वारा दूतावासलाई लेखिएको पत्रमा भनिएको छ ।‘सरकारबाट माग पत्र प्रमाणीकरण गर्न प्रस्ट निर्देशन पाएका छौँ ।

यहाँको आन्तरिक मन्त्रालयले ६ महिना अगाडि नै दुई सय जना भर्ना गर्न माग पत्र पेस गरेको थियो । त्यसलाई प्रमाणीकरण गरिसकेका छौँ,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने ।राजदूत भारद्वाजका अनुसार कतार प्रहरीमा जानेका लागि हवाई शुल्क, सेवा शुल्क र भिसा शुल्क कतार सरकारले नै बेहोर्नेछ ।

कतारले विश्वकप फुटबललाई लक्षित गरेर नेपालीलाई प्रहरीमा भर्ना लिने जनाएको छ । भर्ना लिने सङ्ख्या भने खुलाएको छैन । प्रहरी सेवामा भर्ती हुनका लागि उमेर २५ देखि ३६ वर्ष, उचाइ ५.८ फिट मापदण्ड तोकिएको छ ।करार अवधि भने ५ वर्ष रहनेछ ।

तालिमका समयमा ३ हजार रियाल र तालिम सकेपछि ६ हजार रियाल मासिक तलब पाउने बताइएको छ ।कतारको आन्तरिक मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कतार प्रहरीको भर्ना प्रक्रिया तत्काल अगाडि बढ्छ कि बढ्दैन भन्ने विषय छलफलकै क्रममा छ । ‘यो दीर्घकालीन रोजगार हो । विश्वकप आयोजनाका लागि मात्रै लैजान लागेको होइन ।

नेपालसहित अफ्रिकी देशबाट पनि सुरक्षा सेवामा ल्याउने तयारी गरेका हौँ,’ ती अधिकारीले भने, ‘कतारका मन्त्रालय, सरकारी कार्यालयदेखि भीआईपीहरूको सुरक्षाका लागि भर्ना गर्न लागिएको हो । यो निजी कम्पनीको जस्तो नभई सरकारी सेवाकै सुरक्षाकर्मी हो ।’