अहिलेको सरकारलाई सत्तामा बस्ने अधिकार छैन : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको अवस्थामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भएको बताएका छन् । शनिबार काठमाडौँमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घर घरमा पु¥याउन लागेको उनले बताए । उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसविरुद्ध आवाज उठाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

‘देश झिलिमिल हुन्छ भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पु¥याइँदै छ, नेपाललाई पराधिन उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस्,’ उनले भने, ‘जसरी बेलायतीले भारतमा इष्ट इण्डिया कम्पनी खोले त्योभन्दा खतरनाक छ, एमसीसी ।

जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदै छ ।’एमसीसीको कतिपय प्रावधानले नेपालको आत्म निर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने उनको भनाई थियो । उनले एमसीसीका सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको बताए ।

उनले भने ‘रेडियो, टेलिभिजनबाट एमसीसीको बारेमा विज्ञापन बजिरहेको छ, कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ? दुनियाँमा सुन्नुभा छ ? योभन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ, धेरै विरोध गरेपछि त्यो बन्द भयो ।’

उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भन्दै सूचना गरेको भन्ने आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती दिए ।यस्तै, उनले सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्

विस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबण्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गरे ।उनले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयम् प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधिनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी गरेका थिए ।

यसैगरी उनले अहिले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेर भारतीय हेलिकप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन रहनु राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामाथि भारतले धावा बोल्दा चुप लाग्ने सरकारलाई एक मिनेट सत्तामा बस्ने अधिकार नभएको बताए ।