एकल बुवाका भाग्यमानी सन्तान

एकल आमा होउन् वा बुवा सन्तान हुर्काउन सोचेजस्तो सजिलो छैन । आमाहरूका लागि त यो काम केही सहज हुन सक्ला । तर, एकल बुवाका रूपमा सन्तान हुर्काउनु चुनौतीपूर्ण हुन्छ ।

आफ्ना सन्तानप्रतिको जिम्मेवारी पूरा गर्नु र सुन्दर भविष्यको निर्माणमा योगदान गर्नु एकल बुवाहरूका लागि धेरै संघर्षपूर्ण पनि छ । अर्को कुरा, एकल रूपमा बच्चा हुर्काउँदा बुवाहरूको करियरमा बाधासमेत पुग्न सक्छ । त्यसैले धेरै बुवाले प्रायः यो चुनौती लिन चाहँदैनन् ।

केहीले बीचमै विवाह गर्छन् भने केहीले आफ्ना सन्तानका भविष्यकै लागि अर्को विवाह नगरीकनै एकल बस्छन् । यस्ता एकल बुवा बच्चा हुर्काउन र उनीहरूका गतिविधि नजिकबाट नियाल्न पाउँदा गर्व पनि गर्छन् । यहाँ एकल बुवाका रूपमा बच्चाको अभिभावकत्व लिनेहरूको चर्चा गरिएको छ ।

‘बुवाको साथ पाउँदा गर्व लाग्छ’सागर केसी (बुवा), सृष्टि र दृष्टि दाहाल केसी (छोरीहरू)-‘एउटी आमा बुवाको पनि भूमिका निर्वाह गर्न सक्छिन् तर एउटा बुवालाई आमाको जस्तो भूमिका निर्वाह गर्न गाह्रो हुन्छ’ ललितपुरस्थित हात्तीवनका सागर केसीको भनाइ हो ।

बुवाले सन्तानलाई जतिसुकै गरे पनि आमाको माया र ममता दिन नसक्ने राजनीतिकर्मी सागर बताउँछन् । यो उनको आनै जीवनको भोगाइ पनि हो । आठ वर्षअघि श्रीमतीको निधनपछि छोरी सृष्टि र दृष्टिको जिम्मेवारी सम्हाल्दा उनले यस्तै अनुभव गरेका छन् ।

बुवाले सन्तानहरूका हरेक कुरा पूरा गर्दा पनि आमाको जस्तो वातावरण दिन नसक्ने उनी बताउँछन् । जन्म दिने आमाको ठाउँ कसैले पनि लिन नसक्ने उनको भनाइ छ । सृष्टि दाहाल केसीलाई बुवाले हरेक कुरा पुर्‍याउँदा–पुर्‍याउँदै पनि आमाको अभाव सधै महसुस भइरहन्छ ।

बुवाले छोरीहरूको खुसी र इच्छालाई कहिल्यै मर्न दिएका छैनन् । छोरीहरूलाई अवसर दिन कुनै कसर बाँकी राखेनन् । छोरीहरूको शिक्षा र स्वास्थ्य उनको पहिलो प्राथमिकता छ । छोरीहरू सफल बन्न शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘मैले छोरीहरूको शिक्षा र स्वास्थ्यमा कहिल्यै सम्झौता गर्दिन, शिक्षा र स्वास्थ्य राम्रो भए व्यक्ति सफल हुन्छ भन्ने मेरो मान्यता छ’ सागरले भने ।

सृष्टि र दृष्टि बुवाकै साथ र सल्लाहमा अघि बढिरहेका छन् । सागर कहिले आमाजस्तै बन्छन् त कहिले बुवाको जस्तै भूमिका निर्वाह गर्ने भएर छोरीहरूले पनि उनीमै ‘आमा र बुवा’ दुवै देख्छन् । बुवाबाट दुवै जिम्मेवारी निर्वाह गरेको पाउँदा छोरीहरूलाई सहज महसुस हुन्छ ।

तर, सागरलाई एकल बुवाका रूपमा छोरीहरूको भावना बुझ्न केही असहज महसुस हुन्छ । छोरीहरूमा आउने शारीरिक परिवर्तनदेखि उनीहरूको स्वास्थ्यका लागि खुलेर कुरा गर्न सक्दैनन् । उनी भन्छन्, ‘छोरीहरूको स्वास्थ्य र शारीरिक परिवर्तनको विषयमा कुरा गर्न केही असजिलो महसुस हुने रहेछ ।’

सागरको दिनचर्या व्यस्त हुने भए पनि उनी छोरीहरूका लागि समय छुट्याएकै हुन्छन् । छोरीहरूका लागि घरको कामदेखि बाहिरको जिम्मेवारी निर्वाह गरेको देख्दा सृष्टिले बुवालाई आदर्श पुरुषका रूपमा लिन्छिन् । सागर घरको काम गर्न कहिल्यै हिचकिचाउँदैनन् । छोरीहरूलाई मन पर्ने परिकार पकाउन भान्सामा पुगेर उनीहरूसँग समय बिताइरहेका हुन्छन् ।

बुवाको साथ र सहयोग पाउँदा सृष्टि गर्व गर्छिन् । जतिसुकै व्यस्त भए पनि सन्तानसँग अभिभावकले समय बिताउन आवश्यक रहेको सागर ठान्छन् ।सन्तान हुर्काउन र उनीहरूको जिम्मेवारी पूरा गर्न अभिभावक गम्भीर हुनुपर्ने उनी बताउँछन् । अभिभावकले दिने संस्कार र शिक्षा नै सन्तानका लागि महत्वपूर्ण भएकाले यस विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

‘मेरा हरेक रहर पूरा गरिदिनुहुन्छ’ प्रशान्त ताम्राकार (बुवा) र यास्ना ताम्राकार (छोरी)काठमाडौं बालुवाटारकी यास्ना ताम्राकार ७ वर्षकी छँदा उनको बुवाआमाबीच सम्बन्ध विच्छेद भयो । उनले बुवाआमासँग लुटपुटिँदै रमाउने अवसर पाइनन् । उनलाई बुवाआमामध्ये एक छान्नुपर्ने अवस्था आयो ।

उनको कलिलो दिमागले कसलाई रोज्ने ? उनका लागि दुवै महत्वपूर्ण थिए । यसो त उनी बुवासँग बढी नजिक थिइन् । त्यसैले उनी मोडल बुवा प्रशान्त ताम्राकारसँगै धेरै समय बिताउँथिन् । सानैदेखि बुवासँग घुलमिल हुने भएकाले पनि उनले बुवालाई नै रोजिन् ।

बुवासँग नै सहज महसुस हुने अनुभव गरिन् । छोरीको इच्छानुसार नै आमाले पनि बुवाकै साथमा उनलाई छोडेर गइन् । त्यसपछि आमाको जिम्मेवारी पनि प्रशान्तलाई आइपर्‍यो । छोरीको रेखदेखका लागि उनले समय छुट्याउन थाले ।छोरीका लागि गर्नुपर्ने धेरै कुरा उनले सिक्दै गए ।

छोरीलाई पनि उनले धेरै कुरा सिकाउँदै गए । उनले छोरीलाई दूध खुवाउन सिके । आमाका साथमा छोरीलाई छोड्दा उनले कहिल्यै दूध खुवाउनुपरेको थिएन । संयुक्त परिवार भएकाले छोरी हुर्काउन उनलाई त्यति समस्या भएन । उनका आमा र बहिनीले छोरीको रेखदेखमा सहयोग गरिरहे ।

हजुरआमा र फुपूको माया पाए पनि आमाको माया र समय बुवाले नै दिनुपर्छ भन्ने महसुस प्रशान्तलाई भइरह्यो । छोरीको भावना बुझ्न उनलाई केही कठिन भयो । हाल १७ वर्षकी यास्नाले हरेक कुरा बुवासँग गर्ने भएरै दुवैलाई सहज भएको छ । महिनावारी भएको समयमा प्रशान्तले छोरीलाई स्यानिटरी प्याड पनि किनेर दिन्छन् ।

प्रशान्तलाई यास्नाकी आमा भएको भए यस्ता कुराको अनुभव गर्न पाइँदैनथ्यो भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई सिंगल बुवा भएकोमा गर्व लागेको छ ।’ यास्नालाई पनि बुवासँग धेरै सहज महसुस हुन्छ । उनले हरेक कुरा सेयर गर्छिन् । प्रशान्तले हरेक खुसीमा छोरी खोज्छन् ।

फिल्म हेर्न र आउटिङमा बाबुछोरी सँगै जान्छन् । आमाको कमी बुवाले हुन नदिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मेरा हरेक रहर बुवाले नै पुर्‍याइदिनुहुन्छ ।’ प्रशान्तलाई छोरी समझदार लाग्छिन् । उनी केही कुरामा जिद्दी भए पनि समझदारीका साथ अघि बढ्ने भएकाले हरेक कुरामा सहज भएको प्रशान्तको भनाइ छ ।

‘मेरो प्यारो बुवा’ मनोजकुमार केसी (बुवा) र लियाम केसी (छोरा)‘१९७४ ब्यान्ड’ का गिटारिस्ट मनोजकुमार केसी साथीभाइहरूसँग घुम्न जाने, ‘विक्यान्ड’ मनाउने, रमाइलो गर्ने तब कम भयो जब छोराको जिम्मेवारी उनले उठाउनुपर्‍यो । निर्धक्कसँग काम र घुमफिर गर्ने वातावरण उनका लागि कम हुँदै गयो ।

उनले आफ्नो रमाइलो भन्दा पनि छोराको रमाइलो र खुसी हेर्न थाले ।श्रीमतीको निधनपछि छोरा लियामप्रति ललितपुरका मनोजको जिम्मेवारी बढ्यो ।यसले उनको दैनिकी नै बदलियो ।उनले सम्पूर्ण समय छोराको हेरविचार र रेखदेखमै बिताउन थाले आनो कन्सर्टको तालिकासँगै उनी छोराको खानपानको पनि तालिका मिलाउन थाले ।

छोरालाई खुवाउने र सुताउने सबै काम मनोजले नै गर्न थाले । एकल बुवाका रूपमा सन्तान हुर्काउन सहज नभएको उनी बताउँछन् । एउटी आमाले दिने माया बुवाले जति प्रयास गरे पनि दिन नसक्ने उनको भनाइ छ । पाँच वर्षका छोरालाई विद्यालय पुर्‍याउनु र ल्याउनु मनोजको दैनिकीमा थपियो ।

यसले उनको काम र करियरमै पनि केही असहज अवस्था आयो । ‘बच्चा, घर र करियरलाई मिलाएर लान निकै कठिन हुने रहेछ’ उनी भन्छन्, ‘बच्चा हुर्काउन घर र ससुराली दुवै तर्फबाट सहयोग भए पनि महत्वपूर्ण जिम्मेवारी त बुवाकै हुँदो रहेछ ।’आफू बिरामी भएको बेला होस् वा समस्यामा परेको बेला उनलाई सन्तानकै बढी याद आउँछ ।

उनी भन्छन्, ‘आफू बिरामी पर्नासाथ सन्तानकै बढी चिन्ता लाग्ने रहेछ ।’ कन्सर्टमा जाँदा होस् वा अन्त कतै जाँदा–उनलाई छोराले खोज्छन् । यसले गर्दा मनोज धेरै दिन बाहिर बस्न सक्दैनन् । उनी भन्छन्, ‘बाहिर जाँदा पापा कहिले आउने भनेर सोध्ने गरेकाले पनि धेरै दिन बाहिर बस्न मन लाग्दैन ।’

एकल बुवाका लागि समय व्यवस्थापन गर्नु सबैभन्दा चुनौती रहेको उनको अनुभव छ । उनी भन्छन्, ‘बाबु सानै भएकाले समय व्यवस्थापन गर्न भने एकदमै समस्या हुने रहेछ ।’ तर, समय व्यवस्थापन गर्ने कला र धैर्य भए केही सहज हुने उनको भनाइ छ । लियाम साना भएपनि बुवाको बारेमा सोध्दा भन्छन्, ‘मलाई मेरो बुवा प्यारो लाग्छ ।’

‘बुवाले संस्कार धानेकोमा गर्व लाग्छ’ डा. धनराज अर्याल (बुवा), डा.श्रेयशी र डा.सुरभी अर्याल (छोरीहरू)छोरीको विवाहमा पहिरन खरिद गर्नदेखि गहना छनोटसम्म आफै पुगे बालरोग विशेषज्ञ डा. धनराज अर्याल । दुई छोरीका लागि बुवा र आमा भन्नु नै उनी जो थिए । आमाले गर्नुपर्ने कर्तव्य र दायित्व उनले नै निर्वाह गरिरहे ।

श्रीमतीको निधन भएकाले आमाको भूमिका समेत काठमाडौं नक्सालका धनराजले निर्वाह गर्नुपरेको हो । छोरीहरूको विवाहका लागि सम्पूर्ण भूमिका उनले आफैले निर्वाह गरे । एक्लै छोरीहरूलाई बिदाइ गर्दा उनी भावुक पनि बने । उनलाई श्रीमतीको अभाव खड्किरह्यो ।

उनी भन्छन्, ‘श्रीमतीबिना छोरीहरूको बिदाइमा निकै भावुक बनें ।’ छोरीहरू पढाइ जारी रहेकै बेला श्रीमतीको निधन भयो । त्यसपछि छोरीहरूको पढाइदेखि उनीहरूप्रतिको सबै जिम्मेवारी एकल रूपमा धनराजले लिनुपर्ने बाध्यता आयो । चिकित्सक पेसामा भएकाले धनराजलाई समय व्यवस्थापन गर्न उत्तिकै समस्या भयो ।

साथीभाइहरूलाई दिने समय उनले छोरीहरूलाई दिएका थिए । समय हुनासाथ उनी छोरीहरूसँग गफिन्थे । छोरीहरू समझदार भएकाले एकल बुवाका रूपमा आफूलाई सहज महसुस भएको उनी बताउँछन् ।दुवै छोरीले बुवाकै पथ पछ्याएका छन् ।कान्छी छोरी सुरभी बाल रोग विशेषज्ञ छिन् भने जेठी छोरी श्रेयशी अर्याल स्त्री तथा प्रसूतिरोग विशेषज्ञ छिन् ।

बुवाकै क्षेत्रमा करियर बनाएका छोरीहरूका लागि बुवा एक गुरुजस्तै साथी बनेका छन् । डा.सुरभी भन्छिन्, ‘हाम्रा लागि बुवा एक साथीजस्तै हुनुहुन्छ, हामी हरेक कुरा सहज तरिकाले गर्न सक्छौं ।’ डा.धनराजले छोरीहरूका लागि आमाको भूमिका निर्वाह गरे पनि सुरभीलाई आमाको अभाव भने खड्किरहन्छ ।

उनी भन्छिन्, ‘आमाको महत्व आफ्नै ठाउँमा हुन्छ, मिस त गरिरहेकै हुन्छु ।’ डाक्टर बनेर आमालाई देखाउने उनको चाहना पूरा हुन सकेन । उनी भन्छिन्, ‘म डाक्टर भएको आमालाई सुनाउन पाइन, यसले कहिलेकाहीँ नराम्रो महसुस गराउँछ ।’

विवाहपछि सुरभीको बुवासँग सामाजिक दूरी बढे पनि भावनात्मक दूरी घटेको छैन । बुवासँग उनको नियमित भेट भइरहन्छ । हरेक समस्यामा उनले बुवालाई नै सम्झन्छिन् । पेसा एउटै भएकाले पनि समस्या बुवाबाटै समाधान निकाल्छिन् । धनराजले छोरीहरूको पढाइ र करियरको क्षेत्रमा जसरी जिम्मेवारी लिए, विवाहपछि पनि उनको जिम्मेवारी उत्तिकै छ ।

विवाहपछि छोरीका लागि माइतीबाट हुने रीतिरिवाज र संस्कार धनराजले निर्वाह गरेकै छन् । उनी भन्छन्, ‘सन्तानका लागि आमाबुवाले हरेक पल जिम्मेवारी निर्वाह गर्नु आवश्यक हुन्छ ।’ सुरभीलाई पनि बुवाले जिम्मेवारी उठाउँदै संस्कार र संस्कृति धानेकोमा गर्व लाग्छ ।

उनी भन्छिन्, ‘हरेक चाडपर्वमा बुवाले हामीलाई बोलाइराख्नुहुन्छ, संस्कार– संस्कृतिमा उहाँ एकदमै चासो राख्नुहुन्छ ।’ एकल बुवाहरूमा छोराछोरीहरूको जिम्मेवारी उठाउन सक्ने क्षमता र धैर्य आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘एकल बुवा हुन सहज त पक्कै छैन । तर, जीवनमा आइरहने विभिन्न समस्याहरू संयमित भएर समाधान गर्नुपर्छ ।

‘बुवा मेरो खेल्ने साथी’ पुरुषोत्तम प्रधान (बुवा) र अनु प्रधान (छोरी)परिवारले आमाकै नामबाट छोरीको नाम अनु प्रधान राखिदिए । आमाले छोडेर गएको नासो भनेर यसो गरिएको परिवारको भनाइ छ । अनु जन्मिएको २५ दिनमै आमाले संसार छाडेर गइन् । छोरीलाई आमाको माया/ममताबारे केही थाहा छैन ।

उनको सम्झनामा पनि आमा आउँदिनन् । उनलाई थाहा छ त केबल बुवाको स्नेह–प्रेम । फोटोग्राफर पुरुषोत्तम प्रधानले अनुका लागि आमा र बुवा दुवैको जिम्मेवारी निर्वाह गरिरहेका छन् । काठमाडौं नक्सालका उनले एकल बुवाका रूपमा छोरीको जिम्मेवारी सम्हाल्न थालेको पनि ६ वर्ष भइसक्यो ।

उनले छोरी हुर्काउन र छोरीका हरेक गतिविधि नियाल्न रमाइलो मान्छन् । उनी भन्छन्, ‘साँच्चै छोरीका गतिविधिहरू नजिकबाट नियाल्न पाउँदा रमाइलो महसुस हुन्छ ।’ उनले एकल बुवाका लागि सन्तान हुर्काउनुलाई चुनौती होइन, अवसरका रूपमा लिन्छन् ।

उनी भन्छन्, ‘दायित्व सँगसँगै एक अवसरका रूपमा पनि मैले यसलाई लिएको छु ।’बच्चा भएकाले छोरीको गतिविधि बुझ्न उनलाई कहिलेकाहीँ समस्या भने हुन्छ । खाने र सुत्ने बेलामा छोरीले दुःख दिँदा पनि उनी आत्तिँदैनन् । संयुक्त परिवारमा छोरी हुर्कदा उनलाई केही सहज भएको छ ।

एकल बुवाका रूपमा उनले सहज र असहज दुवै महसुस गरेका छन् । बच्चाले नमान्दा र फकाउन नसक्दा उनलाई सकस हुन्छ । तर, यसका लागि धैर्य भएर काम गर्नुपर्ने उनी बताउँछन् । ‘बच्चा हुन् कहिलेकाहीँ दुःख त दिइहाल्छन्, बच्चालाई गाली गर्नुभन्दा सम्झाउनुपर्छ ।’ छोरीको हरेक इच्छा उनले पूरा गरेका छन् ।

छोरीको मन पर्ने परिकार पकाउनेदेखि लुगा धुनेसम्म सबै काम गर्छन् । छोरी पनि उनीसँग खुलेरै कुरा गरेकी हुन्छन् । छोरीको भविष्य आफ्नो हातमा भएकाले पनि उनलाई जिम्मेवार बनाएको छ । भविष्य निर्माणमा छोरीलाई अगाडि बढाउने उनको सोच छ । उनी भन्छन्, ‘छोरीको इच्छानुसार नै पढाइ र अन्य हरेक कुरामा अगाडि बढाउँछु ।’ नारि बाट