काठमाडौंमा फेरि वर्षा सुरु , आज राति पनि ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुन: वर्षा हुन थालेको छ ।

उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम मंगलबारसम्म प्रतिकूल रहने महाशाखाको पूर्वानुमान छ । आज राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

थप समाचार – आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीन/चार दिनदेखिको चर्काे घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो ।राति साढे २

बजेदेखि ६ बजेसम्म मात्र १००.५ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो । काठमाडौंमा रातिदेखि बिहान ८ः४५ बजेसम्म मात्र १२१.५ मिलिमिटर वर्षा मापन भएको छ । ‘हामीले २४ घन्टाको वर्षा भने पनि राति पानी परेको हो,’ उनले भने ।

अर्यालका अनुसार मनसुनमा मनसुनी न्यून चापीय रेखा बन्दा छरपस्ट वर्षा हुन्छ । तर आइतबार राति चैत-वैशाखझै कालोबादल मडारिएर मेघगर्जनसहित पानी परेको हो, जुन मनसुनी चरित्र होइन । आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएको उनले बताए ।

बंगलाको खाडीमा विकसित न्यून चापीय क्षेत्र आइतबार साँझ मध्य र पूर्व नेपालबाट प्रवेश गरेको थियो । जलवाष्पयुक्त प्रणाली स्थानीय प्रणालीमा मिसिदा काठमाडौंमा ठूलो वर्षा भयो । काठमाडौंमा केही दिन यता चर्काे घामले तापक्रम पनि बढेको थियो । आइतबार मध्यरातिसम्म गर्मी नै थियो ।न्युज कारखाना