भीम रावललाई गृहनगरकै मेयर र उपमेयरले पनि पत्याएनन्

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो ।रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उहाँकै चाहना बमोजिम हुँदै आएको थियो ।

एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि रावललाई सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लागेको छ ।रावल आफ्नै गृह नगरमा समेत एक्लिनु भएको छ । एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँर र उपप्रमुख बिमलादेवी बुढ्थापाले समेत नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्यसमेत हुनुहुन्थ्यो । नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताउनुभयो ।नेता रावलको नेतृत्वमा एमाले अध्यक्ष ओलीको प्रतिगमन र अतिवाविरुद्ध लडेपनि अन्तिममा लिन नसकेको कुँवरले टिप्पणी गर्नुभयो ।

कुवँरसंगै समाजवादी पार्टी रोज्नेमा चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद पनि रहनुभएको छ । चौरपार्टी गाउँकार्यपालिका सदस्य सपना कुमाल, वडा सदस्य भरत खड्का, सुरत कुँवर, बिस्नुदत्त जोशी, भाना लुहार पनि नेकपा (एस)मा खुलेका छन् ।

एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्र सदस्यसमेत रहेको कार्यपालिका सदस्य जितबहादुर निशानी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जयन्ती बोगटी पनि नेकपा (एस) रोजेका छन् ।२०७४ को स्थानीय तह निर्वाचनमा अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख र एक गाउँपालिकाको अध्यक्ष जितेको थियो ।

अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले यस अघि नै एकीकृत समाजवादी रोजिसकेका छन् ।सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादी १४ जना प्रदेश सांसद सहित सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले पहिलो दलबाट चौथोमा पुगेको छ ।

एमालेमा कूल २४ जना (सभामुख बाहेक) सांसद रहेकोमा १४ सांसदले नएकीकृत समाजवादी रोजेका छन् । एमालेमा रहने सांसदको संख्या १० जना मात्रै भएको छ ।