नमस्कार गर्दै काठमाडौँ आइपुगिन एमसीसी उपाध्यक्ष फातेमा, सुरक्षा व्यवस्था कडा

काठमाडौँ ।एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् ।एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् ।

कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ९ः२५ उत्रिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका साथमा सहायक उपाध्यक्ष जोनाथ ब्रुक्स पनि आएका छन् ।सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीक प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । सुमारसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल प्रस्थान गरेकी छन् । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवादित बनेको छ ।

कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।