पशुपतिको जलहरीमा अनियमितता बारे पशुपति क्षेत्र बिकास कोषको आयो यस्तो बिज्ञप्ति-

काठमाडौं । श्री पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरीमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ ।नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना,

सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराहरुको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसरी सम्पन्न गरिएको उक्त कार्यमा कुनै पनि किसिमको अनियमितता नभएको कुरा स्पष्ट पार्न चाहन्छौँ ।’

विज्ञप्तिमा जलहरीलगायत विविध विषयलाई लिएर पशुपति क्षेत्र विकास कोष तथा सम्बन्धित पदाधिकारीहरूको व्यक्तिगत मान मर्यादामा समेत आँच पुग्ने किसिमको तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित समाचार विभिन्न सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गरेको प्रति कोषको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

हिन्दू धर्मलाई आदर्श मान्ने र धर्म रक्षाका लागि लागिरहने पदाधिकारीहरुलाई समेत धर्म विरोधि जस्ता आरोप लगाएर हिन्दू धर्मकै विरोध गर्नेहरुले प्रचारवाजी गरेको हुनसक्ने कोषका एक पदाधिकारीले बताए ।कसैको निजी स्वार्थ र कुण्ठा पूरा नभएकै कारण आधारहीन आरोप–प्रत्यारोप र

प्रचारबाजी समेत गरेको सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा नकारात्मक समाचार प्रकाशन गर्न लालयित रहेको भन्दै हिन्दू धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई शिरोधार्य गर्दै भगवान् श्रीपशुपतिनाथको सेवामा लागिरहेको व्यक्तिलाई हतोत्साहि पार्न खोजिएको कोषका एक पदाधिकारीले बताए ।

‘भगवान् श्रीपशुपतिनाथको गरिमालाई अझ समुच्च बनाउनु हामी सबैको परम दायित्व हो, भन्ने कुरामा हामी सदैव सचेत रहँदै कार्यसम्पादन गर्दै आएका छौँ । तसर्थ, यस्ता अर्नगल प्रचारको भ्रममा नपर्न सम्पूर्ण सञ्चारकर्मी तथा सम्बन्धित सबैमा जानकारीका साथ अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिनाथमा रहेको शिवलिंगको जलहरीबारे उजुरीका आधारमा अनुसन्धान भइरहेको र अनियमितता भएकै छ भन्ने स्थिति अहिले नरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।