ओलीको अगुवाइमा नाराबाजी, सभामुख सापकाेटाकाे सुरक्षामा तीन मर्यादापालक

काठमाडौं-प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । आइतबारको जारी बैठकमा एमाले सांसदरूले नाराबाजी गरिरहेका हुन् ।नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी छन् ।

यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए । तर, आइतबार भइरहेको नारबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक चल्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

तर, यसलाई बेवास्ता गर्दै एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ । सभामुख सापकोटाले आफूले नागरिक सर्वाेच्चतता कायम गरेको र बैठकमा अवरोध सृजना गरेर अरु सांसदको बोल्न अधिकार कुण्ठित नगर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटालाई तीनजना मर्यादापालकले सुरक्षा दिन थालेका छन् ।

गत शुक्रबारको बैठकमा सभामुख सापकोटालाई एमाले सांसद रेखा झाले माइकले हान्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । यसपछि आइतबार बसेको बैठकमा सभामुख सापकोटा पछाडि उभिएर तीनजना मर्यादापालकले सुरक्षा दिइरहेका छन् ।

यसअघि बैठक चलिरहँदा सभामुख सापकोटा पछाडि एकजना मर्यादापालक उभिएर सुरक्षा दिने गरिएको थियो । एमाले सांसदको चर्को नाराबाजी र सांघातिक आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सभामुख सापकोटाको सुरक्षामा तीनजना मर्यादापालक खटाइएको हो ।न्युज कारखाना