कमजोर बन्दै डलर, बलियो बन्दै नेपाली रुपैयाँ

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो ।

बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । त्यसो त यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

२०७८ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११८.५० पुगेको छ । २०७८ असार मसान्तमा उक्त विनिमय दर रु.११९.०४ रहेको थियो ।

यो पनि पढ्नुहोस –चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिटेन्स घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिटेन्स १८.१ प्रतिशतले कमी आई रु.७५ अर्ब ९६ करोड कायम भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आई रु.८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।