सेयरबजारमा पहिरो

काठमाडौं- लगातार दोस्रो दिन सेयरबजारमा उच्च अंकको पहिरो गएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार पुँजीबजार मापक परिसूचक (नेप्से) ७७.३३ अंकले घटेको छ।

दशैं विदापछि खुल्दा पहिलो दिन आइतबार १७.५९ अंकले बढेको नेप्सेमा सोमबार ६९.५१ अंकको गिरावट आएको थियो। मंगलबार ७७.३३ अंकले घटेसँगै नेप्से २५१०.७३ विन्दुमा ‌ओर्लिएको छ। नेप्सेमा आज तीन अर्ब ७७ करोड ७७ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कूल २२१ वटा कम्पनीका ९५ लाख ७२ हजार १६ कित्ता सेयर ५४ हजार ४१६ पटक खरिद-बिक्री भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.२८ अंकले घटेर ४७१.९१ विन्दुमा ओर्लिएको छ। आज माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ४.४९ प्रतिशतका दरले कमाएका छन्।

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.७७ प्रतिशतका दरले गुमाएका छन्। आज नबिल बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै ११ करोड १२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।