विराटनगर विमानस्थलमा बाढी पस्यो, सबै उडान स्थगित

निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो । विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।

‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले भने ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केरलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।

यो पनि पढ्नुहोस –अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब स्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सब स्टेसनमा पस्दा ठुलो क्षति पुगेको छ ।

आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सब स्टेसनको काम भइरहेको थियो ।बाढीले सब स्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरू डुबेका छन् । बाढीले केही उपकरणहरू बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए ।

‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्‍याइरहेको छ, सब स्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ’,घिसिङले भने ।

४०० केभी र २२०/१३२/३३ केभी सब स्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथ,ै ट्रान्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माण स्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुबानमा परेकाले उपकरणहरूमा क्षति पुगेको छ ।