भोलिदेखि मौसममा सुधार हुँदै, देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेको हप्ता दिन नबित्दै मनसुन नै सम्झाउनेगरी भारी वर्षा सुरु भयो। गत असोज २५ गते महाशाखाले मनसुन सकिएको घोषणा गरेको थियो।

मनसुन सकिएको घोषणा गरेको छैटौं दिन भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्याङ्‍कअनुसार बाढीपहिरो तथा डुबानमा परी ७७ जनाको मृ’त्यु भएको छ। अझै २७ जना बेपत्ता छन्। निरन्तर चार दिनसम्मको भारी वर्षाले भित्र्याउन ठिक्क पारेको धानबाली डु’बाउनुका साथै धेरै कृषकको धानबाली बगाएको छ।

दशैं मनाइरहेको अवस्थामा भारी वर्षा आउँदा सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १, बागमती प्रदेश लगायतका १९ जिल्ला धेरै प्रभावित भएका छन्। अझै गृह मन्त्रालयले जनधनको क्षतिको विस्तृत तथ्याङ्‍क ल्याउन सकेको छैन। गत आइतबारदेखि सुरु भएको भारी वर्षा बिहीबारदेखि भने सुधार हुने मौसम पूर्वानुमान माशाखाका मौसमविद् वरुण पौडेलले बताए।

‘मौसममा आजदेखि सुधार भइसकेको छ। लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा आज सामान्य वर्षा हुने सम्भावना देखिन्छ,’ पौडेलले भने, ‘पश्चिम नेपालबाट मौसममा सुधार हुँदै आएकाले बिहीबारदेखि मौसममा सुधार भइ देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना छ।’

मनसुन सकिएपछि ‘पोस्ट मनसुन’ सुरु हुने भएकाले यस्तो खालको भारी वर्षा एकाध वर्ष बिराएर हुने गरेको पौडेलको भनाइ छ। यसअघि पनि सन् २०१४ मा ‘पोस्ट मनसुन’ हुदहुद आँधी आउँदा यस्तै वर्षा भएको उनले स्मरण गराए। अहिले भएको भारी वर्षालाई पनि पोस्ट मनसुनमा हुने वर्षाको रुपमा लिनुपर्ने मौसमविद् पौडेल बताउँछन्।