सिद्धार्थ राजमार्गमा पहिरोः स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध [तस्बिरहरु सहित]

स्याङ्जा। केही दिन देखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड आज बिहान करिव ३:३५ बजेदेखि यातायात अवरुद्ध भएको छ ।

फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा ठूलो ढुङ्गासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सडक अवरद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदै पहाडि जिल्ला आउने र तराई जाने सवारी साधन रोकिएका छन् ।सडक डिभिजन कार्यालयको डोजर ल्याएर सडक खुलाउने प्रयास भइरहेको हुँदा पहिरो हटाउन समय लाग्ने समेत प्रवक्ता अधिकारीले बताउनुभयो ।

अहिले सडक विभाग पोखराबाट डोजर ल्याई एक तर्फी बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ, तर पहिरो ठुलो भएकोले एकतर्फी रुपमा संचालन गर्न समेत कठीनाई रहेको छ !यस ठाउँमा सडक विस्तार गरिएकाले पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।