सत्ता फुत्किने भएपछि एमालेद्वारा अष्टलक्ष्मी बचाउन ओलीकै शैलीमा हर्कत, डरले बालकोटलाई तनाब

मकावनपुर । एमालेले बागमती प्रदेशसभाको प्रदेश सांसद बैठक सार्न पत्र पठाएको छ ।एमालेको यो निर्णयको विपक्षी दलका नेताहरूले असन्तुष्टि पोखेका छन् । अल्पमतमा परेपछि सरकारको आयु लम्ब्याउन एमालेले प्रदेशसभाको बैठक सार्न खोजेको आरोप लगाएका छन् ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले एमालेले प्रदेशसभाको बैठक सार्न एमालेले प्रस्ताव गरेको निर्णयको विरोध गरेका छन् ।उनले प्रदेश सरकार अल्पमतमा परिसकेको अवस्थामा संसदबाट विश्वासको मत लिन छाडेर अल्पमतको सरकारलाई केही दिन कायम राख्न एमालेका नेताहरू प्रदेशसभा बैठक सार्ने प्रयासमा लागेको बताएका छन् ।

नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले विपक्षी दलसँग सल्लाह नै नगरी प्रदेश सरकार र सत्तारुढ दल एमालेले आफू अनुकुल प्रदेशसभा चलाउन खोजेको आरोप लगाएका छन् ।विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको दल विभाजित भएको अवस्थामा अल्पमतको सरकारको नेतृत्व गर्नेभन्दा विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने सम्भावित कार्यसूची छ । सत्तारुढ दल विभाजन भएका कारण मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

प्रदेशसभामा एमालेसँग बहुमत जुट्ने अवस्था छैन । सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभा बैठक सार्न पत्र पठाएपछि बागमती प्रदेशमा एमाले र विपक्षी दलहरूबीच तिक्तता बढेको छ ।सत्ता बचाउन खड्गप्रसाद ओलीले विभिन्न जालझेल र तिकडमहरू गरेका थिए । ओलीकै जस्तो जालझेल बागमतीमा पनि एमालेले शुरु गरेको छ ।