काठमान्डौ , बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । विवाह समारोहमा प्रियंका र आयुष्मानका पारिवारिक सदस्यसँगै उनीहरुका निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।आजै साँझ उनीहरुले रिसेप्सन पार्टी पनि दिँदैछन् ।दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले बिहीवार जिल्ला अदालत काठमाडौं पुगेर कानुन अनुसार विवाह गरेका थिए । प्रियंकाको जन्मदिनको अवसरमा उनीहरुले कागजी विवाह गरेका हुन् ।

कानुनी विवाह गरेपछि यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंकालाई लिन आयुष्मान रोल्स रोयस कार चढेर पुगेका थिए ।गत वर्ष नै टिकाटालो गरेका प्रियंका र आयुष्मान गएको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाहको मिति सरेको थियो । प्रियंकाले अब यस वर्ष विवाह नहुने बताउँदै आएकी थिइन् । अन्ततः यसै वर्ष आयुष्मान र प्रियंकाले अग्नीलाई साक्षी राखेर जीवनभर एकअर्कालाई साथ दिने वाचा गर्दै श्रीमान्-श्रीमती भएका छन् ।

फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट उनीहरुबीच प्रेमको पालुवा पलाएको थियो । प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएपछि उनीहरुले पनि कहिल्यै लुकाउन आवश्यक ठानेनन् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा उनीहरु एकअर्कासँगै पुग्थे । ‘चंगा चेट’ र ‘प्रेम दिवस’ नामक फिल्ममा पनि सँगै काम गरिसकेको यो जोडीले विवाहपछि सँगै बस्न काठमाडौंमा घर समेत किनिसकेको छ ।