…… त्यसैले वैवाहिक जीवन तोड्ने निष्कर्षमा पुगे :पूर्व मिस नेपाल उषा खड्गी

काठमाडौं, पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध विच्छेद निर्णय लिएकी छिन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा जीपी तिमल्सिनासँगको वैवाहिक जीवन तोड्ने निर्णय गरेको बताएकी छिन् ।खड्गीले कुराकानीमा भक्कानिए आफूमाथि निरन्तर हिंसा भएको उल्लेख गरेकी छिन् । खड्गीले फेसबुकमा पनि आफूले शारीरिक र मानसिक यातना सहनु परेको लेखेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ ।’

उनले सबैलाई अब आफू र आफ्नो सन्तानको अधिकारको लागि लड्ने उल्लेख गरेकी छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसै मार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’जीपी तिमल्सिना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो । २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् । सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो ।