डा. शेरबहादुर पुन, शीर्षक पढ्नेबित्तिकै धेरैले पहिला अचम्म मान्नेछन्, त्यसपछि अविश्वास गर्नेछन् र केहीले आलोचना पनि गर्नेछन्। सुरुमा चीनमा देखापरेको यो भाइरसको संक्रमण अहिले चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्यय संगठन (डब्ल्युएचओ)ले यस भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ। दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो समय यो भाइरस सबैभन्दा बढी इटाली र इरानमा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ।

अमेरिका पनि यस भाइरसबाट अछुतो रहन सकेको छैन। हालसम्म १२० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ, जसमा हाम्रो देश नेपाल पनि पर्छ। तर अचम्म के छ भने औंलामा गन्न सकिने देशमा मात्र यसको भयावह स्थिति सिर्जना भएको देखिन्छ। केही मुलुकमा भने यो भाइरसको संक्रमण सुस्त गतिमा फैलिरहेको वा नियन्त्रणमा रहेको देखिन्छ, जस्तै ः सिंगापुर, हङकङ, कोरियाजस्ता देशले सुरुवाती अवस्थामै युद्धस्तरमा नियन्त्रणका उपाय अपनाएर यो भाइरसलाई तीव्र्र गतिमा फैलिन वा नियन्त्रणभन्दा बाहिर जानबाट रोकेको देखिन्छ भने चीनले ठूलो मिहिनेत यसलाई नियन्त्रणमा लिएको देखिन्छ।

यो भाइरसको प्रकोप चीनको उहान सहरबाट सुरु भएको मानिन्छ। संक्रमण फैलिएको पनि लगभग ३ महिना बितिसकेको छ। तर छेउमै रहेको छिमेकी देश नेपालमा भने एकजना उतैबाट आएका एक जनामा बाहेक समुदायमा फैलिएको देखिएको छैन। यो भाइरस एक व्यक्तिबाट अर्काेमा सर्ने गरेको वैज्ञानिक पुष्टि भइसकेको छ। यो भाइरस फैलिन सुरु भइसकेपछि हालसम्म चीन तथा कोरियाबाट नेपाली तथा विदेशी गरेर हजारौं मानिस नेपाल भित्रिसकेका छन्। यो पंक्तिकारले ती देशबाट आएका कोरोना संक्रमणको आशंका भएका सयौं स्वदेशी तथा विदेशी नागरिकलाई परामर्श दिइसकेको छ।

तर आजका मितिसम्म ती मुलुकबाट आई अस्पताल भर्ना भएका कुनै पनि बिरामीमा कोरोना संक्रमण देखिएको छैन। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा अहिलेसम्म सयौं जनाको नमुना (रगत÷¥याल) परीक्षण गरिसकिएको छ। विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण हुने तथा मृत्यु हुने क्रम देखिरहँदा नेपालमा भने सुरुका एक जनामा बाहेक अहिलेसम्म कसैमा कोरोना नदेखिँदा प्रयोगशालाको परीक्षणप्रति नै प्रश्न उठाउन थालिएको देखिन्छ। नेपालमा हालको कोरोना त्रासको अवस्था हेर्दा यस्तो प्रश्न उब्जिनु अस्वाभाविक होइन।

तर नेपालमा कोरोना परीक्षण एक मात्र केन्द्रीयस्तरको सरकारी प्रयोगशालाबाट र त्यो पनि विश्व स्वास्थ्यय संगठनको अनुगमन र सहयोगमा भइरहेकाले नतिजाको सत्यतामा औंला उठाइहाल्नुपर्ने अवस्था होइन। यसको अर्थ परीक्षण सधैं सही नै हुन्छ भन्ने पनि होइन। उच्चस्तरको प्रविधि जस्तै: ‘पिसिआर’ नै प्रयोग गरेर परीक्षण गरेको भए पनि सधैं शतप्रतिशत सही रिपोर्ट दिन्छ भन्ने पनि हुँदैन। नेपालमा पिसिआर प्रविधिबाटै कोरोना भाइरसको परीक्षण भइरहेको छ।अब प्रश्न उठ्छ– त्यसो भए नेपालमा पिसिआर परीक्षणमा नआएका संक्रमितहरू घुमिरहेका पोे छन् कि ? अहिले धेरैले गर्ने प्रश्न यही हो।

तर हामीले यस्तो आशंका निवारणका लागि अर्को पाटो पनि हेर्नुपर्ने हुन्छ। त्यो के हो भने कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्वाभाविक संख्यामा कुनै स्वास्थ्यय केन्द्रमा बिरामी भर्ना भइरहेका त छैनन् ? किनभने करिब १५ प्रतिशत संक्रमितमा यसका लक्षण कडा देखिने र ३ प्रतिशत हाराहारीमा मृत्यु हुने अनुसन्धानले देखाएका छन्। बितेका ३ महिनामा प्रयोगशाला परीक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन नसकेको र छुटेको भए तीमध्ये कम्तीमा १५ प्रतिशत मानिस अस्पताल भर्ना हुनुपर्ने वा केही (३ प्रतिशतजति)को मृत्युसमेत भइसकेको हुनुपर्ने थियो।

तर त्यस्तो अवस्था त अहिलेसम्म देखिएको छैन। अर्को शब्दमा– आजका दिनसम्म हामीले इटालीमा देखिएको अवस्थाजस्तो नेपालमै भएजस्तो गरी भयभीत भइहाल्नुपर्ने अवस्था छैन। तर यसको अर्थ बेवास्तै गर्ने भन्ने पनि होइन। तर फेरि पनि प्रश्न उठ्छ– नेपालमा कोरोना भित्रिँदै भित्रिँदैन त ? नेपालमा कोरोना पुष्टि भएका पहिलो र एक मात्र संक्रमित व्यक्तिसँग उहानमा सँगै बसेका साथीहरूलाई संक्रमण सरेन होला त ? वा अस्पतालमा ती संक्रमितको उपचार गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोरोना किन नसरेको होला ?किनभने अस्पतालबाट डिस्चार्ज हुनुभन्दा अगाडिसम्म उसको नमुना परीक्षणको नतिजा आइसकेको थिएन भने उनलाई उपचार गर्दा विशेष सुरक्षा कवच (पिपिई) पनि लगाइएको थिएन।

अझ महत्वपूर्ण कुरा त के छ भने उसको अस्पताल बसाइ अगाडि र पछाडि ऊ सँगसँगै रहेका उसको परिवारका सदस्य वा साथीभाइ वा सार्वजनिक स्थानमा ऊ सँग भेटिएका मानिसमा संक्रमण सरेर कोही अस्पताल भर्ना हुनुपरेको पनि देखिँदैन। कोरोना मानिसबाट मानिसमा सर्छ भन्ने वैज्ञानिक तथ्य हुँदाहुँदै पनि नेपालमा चाहिँ यो वैज्ञानिक तथ्यलाई नै चुनौती दिइरहेको देखिन्छ। नेपालमा चीनको उहान अथवा इटालीमा जस्तो समुदायस्तरमा कोरोना फैलिन सक्ने अवस्था नभएकै हो त ? हुन त यो भाइरसबारे वैज्ञानिकले अझै पूरा जानकारी दिन सकेका छैनन्, युद्धस्तरमा अनुसन्धान जारी नै राखेका छन्।

यसैबीच संक्रमण नफैलियोस् भनेर विदेशमा समेत हात नमिलाउने, नमस्कार गर्ने प्रचलनलाई प्राथमिकता दिन थालिएको छ, जसलाई पूर्वीय सभ्यतासँग जोडेर हेर्ने गरिन्छ। यसको वैज्ञानिक आधार र तर्क पनि बलियो देखिन्छ। यो पंक्तिकारले नमस्कारजस्तै अर्को पूर्वीय परम्परागत संस्कार पनि कोरोनाबाट बच्ने अर्काे बलियो उपाय ठानेको छ। त्यो हो– हात पानीमा बारम्बार खेलाइरहनु। हामी नेपाली हातले खाना खाने भएकाले खानुअघि र पछि अनिवार्य हात धुने गर्छाैं। तर विदेशीहरू खाना खान चम्चा र काँटा वा चोपिस्टिक आदि प्रयोग गर्छन्।

त्यस्तै धेरैजसो विदेशी भाँडाकुँडा पनि मेसिनले माझ्छन् भने लुगा धुँदा वासिङ मेसिन प्रयोग गर्छन्। अनि शौचालयमा समेत बढी पानीभन्दा पेपर प्रयोग गर्छन्। तर हामी नेपाली भाँडा माझ्न लुगा धुन बढी हातकै प्रयोग गर्छौं र प्रशस्त मात्रामा साबुन–पानी खेलाउँछौं। यस्तै नेपालीले मासु राम्रोसँग पाक्ने गरी वा प्रेसर कुकरमा पकाउने भएकाले त्यसमा रहेका जीवाणु/कीटाणु बच्ने सम्भावना हुँदैन। तर विदेशीहरू मासुलगायतका परिकार अर्धपाकेको खान मन पराउँछन्। हाल कोरोनाबाट बच्ने मुख्य उपायमा राम्रोसँग साबुन–पानीले हात धुनु र मासु राम्ररी पकाएर खानु पर्छन्।

यस्तो अभ्यास हाम्रो समाजमा परापूर्वकालदेखि जारी छ। जसले कोरोना प्रसार रोक्न रामवाणको काम त गरिरहेको छैन भनेर सोच्नु तर्कयुक्त नै देखिन्छ। यसले भाइरस फैलिने साङ्लो चुँडाउने काम गरिदिएको पनि हुन सक्छ। यसो भन्दै गर्दा टाइफाइड, झाडापखाला आदिको प्रकोप पनि रोकिनुपर्ने थियो नि भन्ने प्रश्न तेर्सिन सक्छ। तर कोरोना भाइरसको विशेषता भनेकै पानीको प्रयोग गर्दा यसको संख्यामा धेरै कमी आउने र यो निष्क्रिय हुने पो हो कि ? उदाहरणका लागि रेबिज रोगको भाइरस टोकेको घाउमा भए केही मिनेट सफा पानीले पखाल्दा मात्र पनि ९० प्रतिशतसम्म भाइरसको संख्या घट्छ।

कोरोना भाइरसमा पनि यस्तै अवस्था लागू हुन्छ कि ? अहिलेलाई यो काल्पनिक कुरा हुन सक्छ। तर तार्किक भने देखिन्छ। हाल दक्षिण एसियाली देश– विशेष गरेर नेपाल, भारत, पाकिस्तान, बंगलादेश आदिमा कोरोनाको संक्रमण समुदायमा भने तीव्र्र गतिमा फैलिएको देखिँदैन। यी देशका दैनिक व्यवहारमा पानीको प्रयोग र महत्व धेरै देखिन्छ। अनि नमस्कार गर्ने संस्कारलगायत अन्य चलन पनि लगभग समान पाइन्छ। आयातित कोरोना संक्रमित त छन्, तर संक्रमण प्रसारण क्षमता भने सीमित देखिन्छ। खासगरी परिवारका सदस्यबीचमै संक्रमण सरेको पाइन्छ।

तर यसको ठीक उल्टो चीनको उहान, इटाली, जापान, अमेरिका, युरोप अथवा इरानजस्ता देशमा मानिस–मानिसबीच अथवा समुदायमा सजिलै र तीव्र्र गतिमा सरेको देखिन्छ। यस्तो भिन्नता कतै परम्परागत जीवनशैली वा संस्कृतिले गर्दा भएको त होइन ? यो अनुसन्धानको पाटो होला, तर यो तार्किक देखिन्छ। अन्त्यमा, विश्वमा कोरोना भाइरस देखिने क्रम अझै नरोकिएकाले नेपालले पनि सतर्कता र सजगता भने निरन्तर अपनाउनुपर्छ। तर बढी सोचेर आतंकित हुनु हुँदैन। नागरिक दैनिक