विनोद सिजापती,फागुन २८ मा डब्लुएचओले ११४ मुलुकमा नोवल कोरोना भाइरस फैलिएको भन्दै यसलाई ‘महामारी’ घोषित गर्‍यो। हालसम्म यो रोगको औषधि उपचार पत्ता लाग्न सकेको छैन। अनुसन्धानहरू सफल भए भने कोरोना भाइरसविरुद्धको खोप प्राप्त हुन कम्तीमा पनि १८ महिना लाग्नेछ। चीनमा संक्रमण निर्धारण गर्ने सहज उपकरण आविष्कार भएको समाचार प्राप्त भएको छ। औषधि तथा खोप उपलब्ध नहुञ्जेल संक्रमणबाट बँच्ने उपायहरू जस्तै- सरसफाइ, शारीरिक सम्पर्क परित्याग तथा संक्रमित व्यक्तिलाई एकान्तमा राख्नेमै सीमित छन्।

खुला वातावरणमा पाँच दिनसम्म बाँच्न सक्ने भए पनि यो भाइरस ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा निस्क्रिय हुने विश्वास गरिएको छ। तापक्रम बढ्न थालेपछि कोरोना भाइरस लोप हुन्छ भन्ने विश्वास गरिएको थियो। सुरुमा मार्च महिनाको अन्त्यपछि संक्रमण घट्ने अनुमान गरिएको भए पनि त्यसलाई धकेलेर जून महिना पुर्‍याइएको छ।जुन गतिले चीनबाट विश्वभर द्रूत गतिमा कोरोना भाइरस फैलिँदै छ, त्यसबाट (क) मानवबाट अर्को मानवमा सर्ने रोग कुनै एक देशको समस्या नभएर समस्त मानव जगत्को हुन्छ। (ख) विद्यमान विश्व स्वास्थ्य संरचना यस प्रकारको संक्रमणको सामना गर्न अपर्याप्त छ तथा (ग) सरकारको सक्रियतामा मात्र संक्रमण नियन्त्रण सम्भव हुन्छ।

चीनपछि सबैभन्दा संक्रमण भएको इटाली तथा अमेरिकाको विद्यमान अवस्थाले सम्पन्न मुलुकहरूकै स्थापित पूर्वाधार कोरोना भाइरस फैलावट रोकथामका निमित्त अपर्याप्त ठहरिएका छन्। स्वास्थ्यकर्मीको अभाव मात्र होइन; कोरोना भाइरस संक्रमण भएको ठहर गर्ने उपकरणहरूको चरम अभाव भएको छ।कोरोना भाइरस फैलावटको प्रभावकारी नियन्त्रणका निमित्त प्रायः राष्ट्रले दुई प्रकारको रणनीति अख्तियार गरेका छन्। प्रथमतः आन्तरिक रूपमा संक्रमण फैलिन नदिन नागरिकलाई सहभागी तुल्याउने। उनीहरूलाई सजग तुल्याएर संक्रमणबाट बच्न नितान्त आवश्यक तौरतरिका अपनाउँदै जीवनशैलीमा परिवर्तन गर्न प्रेरित गर्ने।

संक्रमित बिरामीलाई अलग राखेर रोग फैलिनबाट रोक्ने प्रयत्न गर्ने। दोस्रो- विदेशबाट मुलुकमा कोरोना भाइरसलाई प्रवेश गर्न नदिने। आन्तरिक नियन्त्रण प्रक्रियाका साथै ढिलोचाँडो सबै मुलुकले कोरोना भाइरसको आयात हुने सम्भावनामा बन्देज लगाउन थालिसकेका छन्। प्राप्त सूचनाअनुसार एकजना मात्र संक्रमित भेटिएको तथा बिरामी पनि निको भएर सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट सकुशल आफ्नो घर फर्किसकेका छन्। वुहानमा असहाय अवस्थामा रहेका १७५ नेपालीलाई सरकारले उद्धार गरेर खरिपाटीमा ल्याई दुई हप्तासम्म एकान्तवासमा राख्यो।

अन्त्यमा परीक्षण गर्दा कोही पनि संक्रमित भएको पाइएन। यो आलेख तयार गरुञ्जेल हामीकहाँ दर्जनभन्दा कम बिरामी संक्रमित नभएको पुष्टि भएपछि घर फर्किएका छन्। देशको प्रयोगशालामा परीक्षण गरेर संक्रमण नेगेटिभ भएको कतिपय स्याम्पललाई हङकङ पठाएको तथा त्यहाँबाट प्राप्त प्रतिवेदन पनि नेपालीसँगै मिल्दोजुल्दो भएको समाचार छ। उपलब्ध प्रयोगशालाको क्षमता विश्वसनीयतामा शका गर्नुपर्ने देखिँदैन। उत्तर छिमेकी राष्ट्र संक्रमणको केन्द्रविन्दु हुँदा तथा दक्षिण छिमेकी मुलुकमा संक्रमण फैलिँदा (७५ संक्रामक भएको तीमध्ये एकको मृत्यु) हामीकहाँ केवल एक व्यक्ति मात्र संक्रमित हुनु सुखद संयोग नै मान्नुपर्छ।

फागुनको आखिरी हप्तादेखि त्यसपूर्व उदासीन रहेको सरकार सक्रिय हुन थालेको संकेत पाइएको छ। सरकारको सक्रियता बढ्नुको कारणमध्ये (क) संसद्मा माननीय गगनकुमार थापाको सरकारविरुद्ध चेतावनीसहितको संकल्प प्रस्ताव, (ख) सोही दिन विश्व बैंकले (साढे तीन अर्ब रुपैयाँ) कोरोना भाइरस रोकथाम तथा असर न्यूनीकरणका लागि अनुदान सहयोग, (ग) विश्वव्यापी रूपमा संक्रमण फैलिँदै गर्दा ‘हाई प्रोफाइल’ व्यक्तिहरू जस्तै क्यानडाका प्रधानमन्त्रीकी श्रीमती, हलिउडका अभिनेता टम ह्यांक, अस्ट्रेलियाका गृहमन्त्री, थुप्रै चर्चित खेलाडी संक्रमित भएको समाचार प्रसारण अथवा (घ) उल्लिखित तिनै कारणको सम्मि श्रण हुन सक्छ।

उपप्रधानमन्त्रीको नेतृत्वमा भएको सर्वदलीय बैठक, उपप्रधानमन्त्रीकै संयोजकत्वमा रहेको उचस्तरीय समन्वय समिति क्रियाशील हुनु, समितिले उन्नाईसबँुदे विज्ञप्ति जारी गरेर मुलुकमा संक्रमणका चुनौती सम्बोधन गर्ने रणनीति घोषणा, स्वास्थ्य मन्त्रालयको भएका सुविधा उपयोग गर्ने निर्णय, सेना परिचालन गरेर सेनामातहत रहेको सुविधा उपयोगदेखि चीनले अपनाएको कडा अनुशासन जस्तै संक्रमित व्यक्ति मात्र होइन; भूभागलाई नै एकान्तवासमा राख्ने रणनीति अपनाएर कोरोना भाइरस फैलावट नियन्त्रण गर्ने गरी सरकारले सक्रियता बढाएको विषयलाई द्योतक मान्न सकिन्छ।

विश्वमा कोरोना भाइरसको संक्रमण रोक्न निजी क्षेत्र पनि धमाधम सहयोग गर्न अघि सर्दैछ। बिल तथा मेलिन्डा फाउन्डेसनले १० करोड डलर, औषधि उत्पादक कम्पनी बेलकमले पाँच करोड डलर तथा मास्टर कार्ड कम्पनीले २.५ करोड डलर सहयोग उपलब्ध गर्ने घोषणा गरेका छन्। यस्ता सहयोगले परीक्षण उपकरण खरिद, खोप तथा औषधिसम्बन्धी अनुसन्धान कार्य तथा जनचेतना बढाउन सहयोग गर्नेछ। हाम्रो परिप्रेक्ष्यमा भने निजी क्षेत्र र खासगरी ‘द्रव्यपिचास’ का उपाधि पाएका अस्पताल मालिक अझैसम्म चीर निद्रामै छन्।

उनीहरूमध्ये कोही अघि बढेर राष्ट्रले भोग्नुपर्ने अनिष्टको प्रभाव रोकथाम तथा न्यूनीकरणका निमित्त आफूले पुर्‍याउन सक्ने योगदानका विषयमा मौनधारण गरिरहेको अवस्था छ।त्यसो त निजी क्षेत्रको उद्देश्य मुनाफा कमाउने हो। संक्रमणको अवस्थामा उद्धार व्यक्ति तथा संस्थाले मानवीय संवेदनशीलता प्रदर्शन गर्दै सहयोगका हात बढाउन सक्छन्। तर तिनीहरू महामारीको चुनौती सामनाका निमित्त आवश्यक स्रोत तथा साधन जुटाउने क्षमता राख्दैनन्। सरकारले जस्तो प्रभावकारी भूमिका निजी क्षेत्रले खेल्ने कल्पना गर्न पनि कठिन हुन्छ।

त्यसैगरी महामारीको प्रकोप न्यूनीकरण तथा रोकथामका निमित्त सम्पन्न राष्ट्रलाई जस्तो सहज विपन्न राष्ट्रलाई हुँदैन। विपन्न राष्ट्रसँग स्रोत तथा साधनको अभाव हुन्छ। सरकार उदासीन रहने हो भने जतिसुकै सम्पन्न मुलुकलाई पनि कठिन हुन्छ संक्रमण सामना गर्न।त्यसैगरी प्रकोप सामना गर्न पूर्वतयारीमा जुट्ने सरकारहरूलाई जस्तो लोकरिझाइँकेन्द्रित सरकारहरू प्रभावकारी हुन सक्दैनन्। उदाहरणकै रूपमा प्रस्तुत गर्ने हो भने सिंगापुर तथा दक्षिण कोरियाका सरकारहरू कोरोना भाइरस संक्रमण नियन्त्रणमा सफल हुँदैछन्।

चीनले प्रदर्शन गरेको प्रकोप रोक्ने दक्षता अन्य मुलुकले गर्न सक्दैन किनकि त्यहाँको सरकारले अपनाएको कडीकडाउ तथा अनुशासन लोकतान्त्रिक मुलुकमा कल्पनासम्म गर्न कठिन हुन्छ। कोरोना भाइरस संक्रमणको सबालमा आफ्नो राष्ट्रको अवस्था नियाल्दा जोकोहीलाई पनि अत्यास लाग्ने अवस्था छ। हामीसँग स्रोत र साधनको मात्र अभाव होइन; त्योभन्दा पनि इच्छाशक्तिको चरम अभाव छ। नेतृत्वले लोकरिझाइँ तथा देखावटीलाई प्राथमिकता दिने भएकाले अन्य मुलुकभन्दा पछि मात्र हामी चनाखो हुन थालेका छौं। आशा गरौं- सरकारले पाएको अंग्रेजीमा भनिने ‘टु लिटिल टु लेट’ कार्यहरूको छुटलाई पशुपतिले माफ दिँदै हामी सबैको कल्याण गर्नेछन्।

विद्वान्हरूको मत छ- सन् १६६५-१६६६ मा बेलायतमा फैलिएको प्लेगको महामारीपछि महामारी परेको खण्डमा देवताले मानिसको रक्षा गर्छन् भन्ने विश्वासमा ह्रास आउन थालेको हो। अनिष्ट परेको अवस्थामा बेकसुर बालबालिकाको जीवन रक्षा हुन नसकेकाले ईश्वरप्रति मानिसहरू रुष्ट हुन थाले। त्यस कालखण्डदेखि ईश्वरको अस्तित्वमा प्रश्न उठ्न थाल्यो। हामी नेपालीमध्ये धेरै त अझै भगवान् पशुपतिनाथले मुलुकमा अनिष्ट टारिदिन्छन् भन्नेमा विश्वस्त छौं। राजामहाराजाहरूले सम्बोधनका अन्त्यमा प्रयोग गर्ने ‘पशुपतिनाथले हामी सबैको रक्षा गरून्’ शब्दहरूले गणतन्त्र नेपालमा गहिरो प्रभाव पारेका छन्।

शारीरिक स्वास्थ्यस्थितिका कारण सबैभन्दा बढी संक्रमणको जोखिममा रहेका प्रधानमन्त्री विनामास्क तन्दुरुस्तहरूबाट घेरिने धृष्टता गर्नुलाई भगवान् पशुपतिले तिनलाई रक्षा गर्छन् भन्ने विश्वासबाहेक अरू के हुन सक्छ ? त्यसैगरी महिनौंपूर्व संयुक्त राष्ट्रसंघीय स्वस्थ संगठन (डब्लूएचओ) ले नोवल कोरोना भाइरस संक्रमणको प्रबल सम्भावना भएका पाँच प्रमुख राष्ट्रमध्ये नेपाललाई एक ठहर गरे पनि हाम्रो सरकारलाई संक्रमणका विषयमा चिन्तित हुन समय लाग्नुको पछाडि अरू के कारण हुन सक्छ ?भाइरस सार्स कोभ- २ अर्थात् कोरोना भाइरस संक्रमण १९ जसलाई छोटकरीमा कोभिड- १९ नामाकरण गरिएको छ। सहजताका निमित्त यस लेखमा कोरोना भाइरस प्रयोग गरिएको छ।

संक्रमणका लक्षणमध्ये प्रमुखचाहिँ सिँगान बग्ने, घाँटीमा खस्खस्याउने, खोकी, ज्वरो तथा श्वास-प्रश्वासमा कठिनाइ आदि छन्। डब्लूएचओले विश्वव्यापी रूपमा द्रूत फैलिँदै गरेको कोरोना भाइरसलाई फागुन २८ मा ‘महामारी’ का रूपमा घोषणा गर्‍यो। चैत २ सम्म आइपुग्दा कोरोना भाइरस एक लाख ६० हजार मानिसमा संक्रमण भएको जसमध्ये पाँच हजार आठ सय ३६ जनाको मृत्यु भयो। संक्रमितमध्ये १६ प्रतिशतलाई यस रोगले थला पार्ने गर्छ।अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकलाई कोरोना भाइरस फैलिनबाट रोक्ने सामथ्र्य जनस्वास्थ्य सेवालाई विश्वास मात्र दिलाएनन्, अकस्मात फागुन ३० मा कोरोना भाइरस फैलावट रोकथामका निमित्त ५० करोड डलर छुट्याउँदै देशव्यापी संकटकाल घोषणा गरे।

पछिल्लो समाचारअनुसार ट्रम्पको परीक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ। विश्व समुदायले चीनलाई कोरोना भाइरस प्रकोपको ‘इपिसेन्टर’ (केन्द्रविन्दु) मान्दै आएकोमा फागुन ३० कै दिन डब्लूएचओले इटालीलाई ‘इपिसेन्टर’ राष्ट्र घोषणा गर्‍यो। द्रूतगतिमा विश्वव्यापी हँुदै गरेको यो भाइरस अन्य महाद्वीपमा देखा परे पनि दक्षिण अमेरिका त्यतिञ्जेल अछूत थियो। फागुन महिनाको अन्तिम दिन ब्राजिलका राष्ट्रपति कोरोना भाइरस संक्रमित भएका छन् भन्ने समाचार प्रसारण भयो। अन्नपुर्ण पोस्ट