भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन, घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाडौँ, सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ। समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ भने सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ।

यसैगरी सो समितिले अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको छ। निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको समितले संक्रामक रोग ऐन २०२० बमोजिम यस्तो आदेश जारी गरेको हो। समितिले एक सातासम्म लकडाउनको घोषणा गर्नुअघि सोमबार काठमाडौंमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।