सप्तरीमा सेना परिचालन

राजविराज : कोरोना भाइरसको रोकथामका लागि सरकारले ‘लकडाउन’ गराएको मंगलबार पहिलो दिन ।तर, सप्तरीका अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन भएपछि सेना परिचालन भएको छ । सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेनाले जमघट र भीड हटाउँदै पसलहरु बन्द गराएका छन् ।जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको ठाकुरले जानकारी दिए ।

गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताएका छन् ।त्यस्तै लक डाउन भएसँगै वीरगन्जमा व्यापारीले आलु, प्याज र हरियो तरकारीको भाउ तेब्बरले बढाएका छन् । सोमबार बेलुकी मङगलबारदेखि एक साताका लागि देशभर लकडाउन गरिने निर्णय गरेसँगै वीरगन्जको बजारमा अभाव देखाउँदै व्यापारीहरुले तरकारीको भाउ तेब्बरले बढाएका हुन् ।एक सातासम्म लकडाउन हुने भएपछि त्रासमा परेका उपभोक्तार मङगलबार बिहानै बजारमा पुग्दा तरकारीको भाउ तेब्बरले बढेको देख्दा अचम्मित भए।

वीरगन्जको बजारमा सोमबार साँझसम्म खुद्रामा आलु किलोको ३० रुपैयाँ र प्याज ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, मङलबार बिहान बजारमा आलु खुद्रामा किलोको ८० रुपैयाँ र प्याज किलोको ७० रुपैयाँको भाउमा खरिद बिक्री भएको छ ।यस्तै सोमबार साँझसम्म किलोको ८० रुपैयाँमा बिक्री भएको हरियो खुर्सानी मङगलबार भने किलोको ४ सय रुपैयाँले बिक्री गरिएको छ । यस्तै गोलभेडाको भाउ ४० बाट बढेर ८० रुपैयाँ , भेन्टा ४० बाट बढेर ८० रुपैयाँ, मटरकोशा ५० बाट बढेर १ सय रुपैयाँ , काउली २० बाट बढेर ६० रुपैयाँ किलो पुगेको छ।