एक परिवारका लागि महिनामा एउटामात्रै ग्यास सिलिन्डर उपलब्ध गराउने

काठमाडौं । नेपाल आयल निगमले एक परिवारका लागि एउटा मात्र ग्यास उपलब्ध गराउने गरी आपूर्ति व्यवस्थापनको उपाय निकालेको छ । लकडाउनको अवस्थामा आपूर्ति व्यवस्था मिलाउन निगमले एक महिनामा एउटा परिवारले एउटामात्र ग्यास सिलिन्डर किन्न पाउने व्यवस्था गरेको हो ।जसअनुसार ग्यास डिलर बिक्रेताले ग्यास बिक्री गर्दा मासिक रुपमा एक परिवार एक सिलिन्डरको प्रक्रिया मिलाई ग्यास बिक्री गनुपर्ने छ । यसका लागि बिक्री गरिएको ग्यास किन्ने उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्छ ।

निगमले मंगलबार साँझ यस्तो निर्देशन दिएको हो ।आपुर्तिमन्त्री लेखराज भट्टले एउटा परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराउने र असहज परिस्थिति नआओस् भनेर यस्तो निर्देशन दिइएको बताएका छन ।त्यस्तै सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ ।यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो ।महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने, ‘अत्याश्वक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो पनि खोल्न भनेका छौं ।’

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन ।जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो ।गृह मन्त्रालयका सह-सचिव केदारनाथ शर्माले पनि विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गरेका छन् ।