कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सकको मृत्यु

१२ चैत्र २०७६, बुधबार काठमाडौं, कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमणबाट पाकिस्तानमा एक चिकित्सककै ज्यान गएको छ । योसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक ओसामा रियाजको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी विशेष गरी कोरोना प्रभावित इरानबाट आएका नागरिकको उपचारमा संलग्न थिए । यस्तै आइसोलेशनमा राखिएका बिरामीको उपचारमा पनि उनी सरिक थिए ।

राति सामान्य अवस्थामा सुतेका डाक्टर रियाज बिहान अचेत भेटिएपछि प्रान्तको मुख्यालय अस्पताल पुर्‍याइएको थियो । त्यहाँ र्‍यालको नमुना परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण भएको थाहा भएको पुष्टि भएको थियो ।त्यसमा शङ्का लागेर फेरि नमुना परीक्षण गर्दा कोरोना भएको पुष्टि भएको प्रान्तीय अस्पतालले जनाएको छ । भ्यान्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।