कोरोनाभाइरस सर्ने भन्दै घरपेटीले अस्पतालमा काम गर्ने चिकित्सकलाई डेराबाट निकालिन्

बीबीसी, बेलायतको अक्सफोर्डमा रहेको नफील्ड अर्थोपेडिक सेन्टर र जोन र्‍याडक्लिफ अस्पतालमा काम गर्ने चिकित्सक जोसेफ अल्सोउसोउलाई उनकी घरपेटीले डेराबाट निकालेकी छन् । डाक्टरले कोठामा कोरोनाभाइरस ल्याउन सक्ने भन्दै घरपेटीले निकालेकी हुन् । उनी अगस्ट महिनादेखि हेडिंगटनमा रहेको एक घरमा भाडामा बस्दै आएका थिए । उनलाई कोठाबाट निस्कन भनेपछि उनी मर्सीसाइडमा रहेको पारिवारिक घरमा रुँदै गाडी चलाएर पुगेका थिए । घरपेटीले गत सप्ताहान्तमा आफूलाई इमेलबाट २८ दिनको नोटिस दिएर घर छोड्न भनेको डा अल्सोउसोउले बताए ।

सोमवार उनले घरपेटीलाई भाइरसको जोखिम एकदमै कम रहेको बताएको भए पनि भोलिपल्ट साँझ उनी घर आउँदा घरपेटीले सकेसम्म छिटो निस्केर जाऊ भनिन् । उनले भने, ‘त्यतिखेर मलाई त्यो घरमा बस्नै हुन्न भन्ने लाग्यो । म घर गएँ किनकि मैले बस्ने ठाउँ नै थिएन । म आँखामा आँसु भर्दै अक्सफोर्डबाट गाडी हाँकेर विर्राल पुगें ।’डा अल्सोउसोउले नयाँ डेरा खोज्दै गर्दा अन्य चिकित्सकले अस्पतालमा पालो दिए । पछि उनले होर्सपाथमा डेरा पाए ।‘अहिलेकी घरपेटीले चाहिँ यस्तो बेलामा घरमा डाक्टर भएको ठीक हुन्छ भनी मलाई डेरा दिइन्,’ उनले भने ।