राष्ट्रसंघका महासचिवको चेतावनी : कोरोना रोक्न नसके १० औँ लाखले ज्यान गुमाउँछन्

बिबिसी , संयुक्त राष्ट्रसंघका महासचिवले कोरोना भाइरस कोभिड-१९ महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन्। एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। महासचिवले भने, ‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ। त्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ।

त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन।’ आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ। यसबीच विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले परीक्षण, क्वारन्टाइन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ। सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लु एच ओ ले बताएको छ। यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए।