कैलाली-कञ्चनपुरका सीमा-नाकामा सशस्त्र प्रहरीलाई हाईअलटमा राखियाे

कञ्चनपुर, कोरोना भाइरस (कोडिभ–१९) महामारी न्यूनीकरणका गर्न सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली-कञ्चनपुरका सीमा-नाकामा सशस्त्र प्रहरीलाई हाईअलटमा राखिएको छ ।भारतबाट फर्किएका सुदूरपश्चिमका दुई नेपालीमा कोराेनाको संक्रमण पृष्टि भएपछि कैलाली–कञ्चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई हाइअलर्टमा राखिएको हाे ।चैत १४ गते टनकपुर भएर ब्रम्हदेव नाकाबाट भित्रिएका वेदकोट नगरपालिका- १० चटहरीका ४१ वर्षिया पुरूष र चैत ११ गते गौरीफन्टा नाका भएर त्रिनगरबाट नेपाल प्रवेश गरेका कैलाली लम्कीचुहा नगरपालिका २१ वर्षिया युवकमा कोरोना पृष्टि भएपछि कैलाली-कञ्चनपुरका नाकामा थप कडाइ गरिएको हो ।

भारतसँग जोडिएको कञ्चनपुरको १२९.५ किलोमिटर दुरीको सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले भारतसँग सीमा क्षेत्रका कञ्चनपुरका पाँच स्थानीय तह-भीमदत्त, महाकाली, बेलडाँडी, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाएको हाे ।यसअघि ब्रम्हदेव, दोधारा, बेलडाँडी, बेलौरी, पुनर्वासको आनन्द बजार र बीचफाँटा बोडर आउट पोष्टरहित थप अस्थायी पोष्ट र सशस्त्र प्रहरीले जनशक्ति परिचालन गरेको छ । पाँच दिनअघि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा २२० थप जनशक्ति परिचालन गरेर कडाइ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह शाहुले सीमा क्षेत्रमा कुनै पनि मानिसको आवत-जावत पूर्ण बन्द गर्नका लागि थप जनशक्ति परिचालन गरिएको बताए । ‘हामीले सीमा क्षेत्रमा उच्च सर्तकता अपनाएका छौँ,’ सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘हरेक नाकामा २४ सै घण्टा सशस्त्र प्रहरी परिचालन गरेका छौँ ।’सीमा क्षेत्र अनुगमनमा पुगेका सशस्त्र प्रहरी उपरीक्षक शाहुले त्यहाँ खटिएका सशस्त्र प्रहरीलाई समाजिक दुरी कायम गर्दै कुनै पनि सजीव प्राणी प्रवेश र बर्हिगमनमा कडाइका साथ रोक लगाउन निर्देशन दिएका छन् ।

‘सीमा क्षेत्रबाट मानिस त परै जाउन्, एउटा जीव वा प्राणी पनि आउन-जान दिएका छैनौँ,’ शसस्त्र प्रहरी उपरीक्षक शाहुले थप भने, ‘सातादेखि कोही पनि भारतबाट नेपाल प्रवेश गरेका छैनन्, हामीले गर्न दिने कुरै भएन ।’ सीमा क्षेत्रमा सशस्त्र प्रहरीले हाईअलट बसेको बताउँदै उनले खुला सीमा पूरै सिल भएको पनि बताए ।सीमा क्षेत्रमा थप जनशक्ति थपेसँगै कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख समेत रहेका ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिह शाहु आफै सीमा क्षेत्रमा नियमित अनुगमनमा हिँडेका छन् ।तस्बिर: फाइल