कसैले कसैलाई निषेध गरेर जाने सोँचको आयु समाप्त : पूर्व राजा शाह

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाहले कसैले कसैलाई निषेध गरेर जाने सोंचको आयु समाप्त भएको बताउनु भएको छ ।उहाँले धरातलीय यथार्थलाई स्वीकार गर्ने आत्मस्वीकार गर्ने राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि नसकिएको खण्डमा इतिहासमा अर्को महाभूल हुने पनि प्रष्ट पार्नु भएको छ ।उहाँले आम नेपालीबीच एकताको अपरिहार्यको थप बोध भएको पनि बताउनु भएको छ ।नयाँ वर्ष २०७७ को पूर्वसन्ध्यामा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले कोरोना भाइरस विश्वव्यापी महामारीबाट देशका बिभिन्न भूभागमा र विश्वका बिभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त , सन्त्रस्त र समस्याग्रस्त रहेको उल्लेख गर्नु भएको छ ।

यस्तो अवस्थामा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै सबैले सजगता अपनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, ‘नेपाली जनता खुसी र सुखी रहुन एवं देशको शीर सगरमाथा झै उच्च रहोस भन्ने हाम्रो अटल चाहना थियो छ र रहने छ ।’पूर्व राजा शाहद्वारा जारी सन्देशमा अगाडि भनिएको छ, ‘आफूलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनतामा पर्न सक्ने बिभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदितै छ, मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् तर विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरुको सामना गर्न हामीबीचको एकता अपरिहार्य बनेको छ ।’