घरधनीलाई राहत, मजदुर र कोठा भाडामा बस्‍ने भोकभोकै

काठमाडौं : ललितपुर महानगरपालिका वडा नम्बर-१४ ले बाढेको राहतको पोको घरधनीले बुझ्दा मजदुर भोकभोकै परेका छन्। कोठा भाडामा बस्‍ने कामदारका लागि राहत वितरण गर्ने व्यवस्था भएपनि घर र सटरसमेत भाडामा लगाएका हरुले ललितपुर महानगरबाट वितरित राहतले पोल्टो भरेका छन्। ‘एक साता अगाडि राहत वितरणका लागि सर्वदलीय समिति बनाइएको थियो’, एक स्थानीयबासीले भने, ‘घर नहुने र कोठामा बस्नेलाई राहत वितरण गर्ने सहमति बैठकमा भएको थियो। तर राहत चाहिँ घर भएकालाई मानिसलाई मात्रै वितरण गरिएको छ।’

कोठामा बस्‍नेलाई र मजदुरलाई राहत वितरणमा विभेद गरिएको आरोप मजदुरहरुले लगाएका छन्। राहत वितरण समिति बनाउँदा समान रुपमा सबैलाई बाँड्ने भनिए पनि विभेद गरिएको उनीहरुले गुनासो गरेका छन्। आफन्त र चिनेका मानिसलाई मात्रै राहत बाँडिएको हो। राहत वितरणका लागि सबैको घरमा गएर फारम भरिएको थियो। तर दिनेबेला घर भएका मानिसलाई मात्रै थमाइएको छ। ‘कोठामा बस्ने र मजदुरी गर्ने धेरै मानिस रित्तो हात फर्कन बाध्य भएका छन्’, अर्का मजदुरले भने। तर राहत समान वितरणमा कसैलाई पनि विभेद नगरिएको दाबी वडा नम्बर १४ का अध्यक्ष बाबुराम महतले गरेका छन्।

‘राहत वितरण मजदुर वर्ग र कोठामा बस्नेलाई व्यवस्था गरिएको हो’, उनले भने, ‘सबैको घर-घरमा गएर राहत बाँड्न फारम भराइएको थियो।’ उनका अनुसार १० किलो चामल, नुन एक पोका र तेलसहित खाद्य सामग्री वितरण गरिएको हो। वडामा वितरण गरिने राहतमा कसैलाई पनि नछुट्याइएको उनले दाबी गरे। ‘केही मानिस घर भएको र मोटरसाइकल चढेर राहत लिन पनि आएका थिए,’ उनले भने,’गति छाडेर भए पनि केही घर भएका स्थानी मानिसले राहत लिएर गए।’ मजदुर नछुटुन् भनेर प्रहरी प्रशासन राखेर राहत वितरण गरिएको उनले बताए।