आन्तरिक उडान वैशाख १८ सम्म बन्द

काठमाडौँ, सरकारले चैत १३ देखि रोकेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीका अनुसार, मंगलबारको मन्त्रिपरिषद् बैठकले वैशाख १८ सम्मै आन्तरिक व्यावसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत २५ गते सरकारले अन्तर्राष्ट्रिय कमर्सियल उडान वैशाख १८ सम्म रोक्ने निर्णय गरेको थियो । त्यस्तै सरकारले जारी लकडाउनको अवधि १२ थपेर बैशाख १५ गतेसम्म लम्ब्याएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो ।जसको अवधि भोलि बुधबार सकिने थियो ।तर सो अवधि समाप्त नहुँदै आजको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर अवधि लम्ब्याएको हो ।