कोरोना नियन्त्रणमा महिला नेतृत्व प्रभावकारी

३ बैशाख २०७७, बुधबार एजेन्सी , संकटका बेला सही नेतृत्वको खोजीमा हुनुहुन्छ ? आइसल्यान्डदेखि ताइवानसम्म, जर्मनीदेखि न्युजिल्यान्डसम्म, महिलाले मानव समाजका लागि आएको कठिन घडीमा नेतृत्व कति महत्वपर्ण हुन्छ भन्ने दृष्टान्तलाई लिएर विश्वलाई राम्रो सन्देश दिएका छन्। फिनल्यान्ड र डेनमार्कसमेत जोडेर हेर्ने हो भने महिला नेतृत्वले घरमा संकट पर्दा त्यसलाई कसरी सामना गर्नुपर्छ भन्ने देखाएका छन्। कतिपयले यी साना देश तथा टापु भएकाले व्यवस्थापन गर्न सहिजो हुन्छ भन्ने दाबी पनि गर्लान् ।

तर जर्मनी ठूलो देश हो र इंगल्यान्ड पनि सानो छैन। यी नेताहरुले शक्तिको कसरी सदुपयोग गर्न सकिन्छ भनेर देखाएका छन्। उनीहरुले हामीलाई के सिकाएका छन् त ?जर्मन चान्सलर एन्जेला मर्केल समस्याको समाधानमा सबैभन्दा छिटो उभिइन् र देशवासीलाई यो भाइरसले ७० प्रतिशत जनसंख्यालाई संक्रमण गर्न सक्ने बताइन। ‘यो गम्भीर विषय हो र हामीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ’, उनले भनिन्। उनले त्यसो भनेपछि जर्मन नागरिकले पनि यो विषयलाई गम्भीर ढंगले लिए। त्यसपछि भाइरस परीक्षण अभियान सुरु भयो।

भाइरसको विषयलाई लिएर अन्य देशले जसरी सुरुमा यसलाई अस्वीकार गर्ने, कसैप्रति रिस पोख्ने र यो विषयमा अनुदार हुने रणनीति लिए, जर्मनीले त्यसो गरेन। त्यसको परिणामस्वरुप अन्य युरोपेली छिमेकीभन्दा जर्मनीले भाइरसको महामारीबाट आफूलाई जोगाउन सफल भयो। जर्मनीले नागरिकको आवागमनमा लगाएको प्रतिबन्ध छिटै फुकुवा गर्ने संकेत गरिसकेको छ। सबैभन्दा पहिलो र छिटो निर्णय गर्नेमा ताइवानी राष्ट्रपति साई इङवेन पर्छिन्। उनले जनवरीमा भाइरसको पहिलो संक्रमण देखिएपछि यसको महामारी रोक्न महत्वपूर्ण एक सय २४ कदम चालिन्।

हाल ताइवानले अमेरिका र युरोपमा एक करोड फेस मास्क निर्यात गरिसकेको छ। सिएनएनका अनुसार कोभिड १९ रोकथाम गर्ने हिसाबले विश्वकै उत्कृष्ट नेतामा ताइवानकी राष्ट्रपति पर्छिन्। ताइवानमा भाइरसका कारण ६ जनाको मृत्यु भएको छ। यसैगरी न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अरडनले समयमै लकडाउन गर्ने निर्णय गरिन्। संक्रमित संख्या जम्मा ६ जना हुँदै उनले बाहिरबाट आउने सबैलाई सेल्फ आइसोलेसन (स्वबन्दी) मा राखिन् र विदेशबाट देशमा आउन प्रतिबन्ध लगाइन्। त्यही निर्णयका कारण अहिले न्युजिल्यान्ड सुरक्षित छ।

त्यहाँ चारजनाको मात्र मृत्यु भएको छ। बाहिर रहेका देशवासीलाई देश फर्कंदा तोकिएको ठाउँमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था पनि उनले गरेकी छन् ।आइसल्यान्डकी प्रधानमन्त्री क्याट्रिन जाकोब्सडटियरले सबै नागरिकलाई निःशुल्क कोरोना भाइरस परीक्षणको व्यवस्था गरिन्। अन्य देशले रोगको लक्षण भएकाको मात्र परीक्षण गरे। जनसंख्या अनुपातमा हिसाब गर्दा दक्षिण कोरियाले गरेको परीक्षणभन्दा आइसल्यान्डले पाँच गुणा बढी आफ्ना नागरिकको परीक्षण गरेको छ भने ट्र्याकिङ प्रणाली पनि सशक्त पारेको छ। जसका कारण आइसल्यान्डमा लकडाउन गर्नुपरेको छैन, विद्यालय पनि बन्द छैनन्।

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन सोसियल मिडिया उपयोग गरेर आमनागरिकसम्म पुगिन् र भाइरस फैलावट नियन्त्रण गर्न सफल भइन। सबैले पत्रिका पढ्न नसक्ने हुँदा उनले विभिन्न उमेर समूहमा प्रभावकारी ढंगले व्यक्तिलाई परिचालन गरिन् र महामारीबारे सही सूचना दिई सावधानी अपनाउन अनुरोध गरिन्। नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्गले टेलिभिजन उपयोग गरेर देशका बालबालिकासँग प्रत्यक्ष संवाद चलाइन्। उनले जम्मा ३ मिनेटका पत्रकार सम्मेलन आयोजना गरिन्, जहाँ प्रौढलाई उपस्थित हुन अनुमति थिएन ।उनले बालबालिकाका प्रश्नको सीधा उत्तर दिइन् र डर मान्न किन आवश्यक छ भनेर प्रस्ट्याइन्।

यो आफैंमा नवीन तरिका थियो। सहानभूति र प्रत्यक्ष हेरचाहको यो प्रयासले काम पनि ग¥यो। अब यी नेतालाई विश्वका अन्य शक्तिशाली राष्ट्रका नेतृत्वसँग तुलना गरौं, जसले अर्कालाई दोषी ठाने, अदालतलाई आफ्नो नियन्त्रणमा लिए, पत्रकारिताको राक्षसीकरण गरे र आफैंलाई मात्र महत्व दिए। यो पंक्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, मेक्सिकोका राष्ट्रपति एन्ड्रेस लोपेज म्यानुअल ओब्राडोर, फिलिपिनी राष्ट्रपति रोड्रिगो दुतर्ते, हंगेरियाली प्रधानमन्त्री भिक्टर ओरवान, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत छन्।

विभिन्न अध्ययनले महिलाको नेतृत्व पुरुषको भन्दा फरक र उपयोगी हुने देखाएका छन्। तर धेरै राजनीतिक संघसंस्था एवं कम्पनीले सफलताका लागि र नेतृत्वका लागि पुरुषले गर्ने तौरतरिका अपनाउनुपर्ने तर्क गर्छन्। हाल विश्वमा रहेका यी महिला नेत्रीबाट पुरुष नेतृत्वले सिक्नुपर्छ भन्ने प्रमाणित भएको छ।हामीले यो स्वीकार गर्नुपर्छ र महिलालाई अझै बढी नेतृत्वमा ल्याउनुपर्छ। (फोब्र्स पत्रिकामा प्रकाशित आलेखको अनुवाद)