भारतीय क्वारेन्टाइनमा नेपालीकाे बेहाल, १४ दिन कटे पनि देश फर्काउने सुरसार छैन

कञ्चनपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका भारतले तीन साताकाे लकडाउनपछि दोस्रोपटक बैशाख २१ गतेसम्म र नेपालले चाैथाेपटक वैशाख १५ गतेसम्म लकडाउन थपेका छन् ।लकडाउन लम्बिएसँगै नेपाल-भारत सीममा अलपत्र परेका नेपालीहरूकाे बिजाेग झन् कहालिलाग्दाे भएकाे छ । सीमाक्षेत्रमा भारतका विभिन्न क्वारेन्टाईनमा बसेका नेपालीले यता क्वारेन्टाईनको समय पूरा गरे पनि देश भित्रिन पाएका छैनन् । उनीहरूले कष्टकर जीवन बिताउनु परेको दुखेसो पोखका छन् ।भारतको वनबासा क्वारेन्टाइनमा बसेका रिदम अग्रवाल (जिसी)ले भारतमा क्वारेन्टाईनको अवधि भन्दाबढी समय काटिसकेको बताए ।

‘हामीले यता क्वारेन्टाइनको अवधि पूरा गरिसकेका छौँ,’ जिसीले भने, ‘१४ दिनभन्दा बढी समय हामीले भारतीय क्वारेन्टाइनमा कटाइसकेका छौँ । नेपाल पठाउने कुनै सुरसार छैन ।’क्वारेन्टाईनमा बस्दा लामछुट्टेको टोकाइ र हुलका हुल मानिस एकै काेठामा साँघुराे गरी बस्नुपर्ने लगायतका समस्याले उस्तै पनि बिरामी हुने अवस्था भइरहेको उनको दुखेसो छ ।टनकपुरको क्वारेन्टाईनमा बसेका कल्बिरेक क्षेत्रीले क्वारेन्टाइन अवधि कटिसके पनि सरकारले आफुहरुको विषयमा चासो नदिएको दुखेसो पोखे ।उनले स्वास्थ्य परीक्षण गरिसकेको बताए । क्वारेन्टाइनमा खानाकाे समस्या नभए पनि अन्य व्यवस्थापनमा समस्या भएको बताए ।

‘हामी यताबाट आफ्नै मातृभूमिमा आउन चाहन्छौँ,’ उनले भने, ‘बरु सरकारले त्यता पनि हामीलाई क्वारेन्टाईनमा राखाेस् ।’बनबासाकै क्वारेन्टाइनमा बसेका केशव धामीले भारतीय क्वारेन्टाइनमा बस्नु भनेकाे थप बिरामीको चपेटामा पर्नुजस्तै भएको बताए ।उनले कोरोनाबाट बाँच्नका लागि भीडमा नजान र भीडबाट बाँच्नुपर्ने बताइएकाे भए पनि अाफूहरूलाइ भने क्वारेन्टाईनभित्र सयौँको हुलमूलमै राखेकाे बताए । यसले थप चिन्ता र समस्या निम्त्याएको उनकाे भनाइ छ ।‘हामी मर्नु परे पनि आफ्नै मातृभूमिमा मरौँला,’ उनले भने, ‘यता भारतमा अवधि पुगेकाले हामीलाई आफ्नै देशमा ल्याउने माहोल बनाईदिनुहोस् ।’

भारतका विभिन्न स्थानबाट रोजगारी गरी स्वदेश फर्किन लागेका नेपालीलाई सीमा क्षेत्रका क्वारेन्टाईनमा राखिएको छ ।उनीहरुले अवधि पुगेकाले नेपालै ल्याएर राख्न माग अघि सारेका छन् । तर, नेपाल र भारतका दुवै देशका प्रधानमन्त्रीले दुवै देशका नागरिकलाई सम्बन्धित देशकै क्वारेन्टाइनमा राखेर समस्या समाधानमा जोड दिँदै आएका छन् । तापनि व्यवहारिक रुपमा नेपालीभन्दा भारतीय क्वारेन्टाइनमा समस्या देखिएको छ । त्यहाँ एक नेपालीमाथि भारतीयहरूले राम्राे व्यवहार गर्दैनन् ।नेपाली अधिकारीले सीमा क्षेत्र भारतमा क्वारेन्टाइन अवधि पुगेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउने विषयमा छलफल भइरहेको जनाएका छन् ।