धादिङबेसीमा मोटरसाइकल चालकलाई प्रहरीले कुटेको भिडियो भाइरल

काठमाडौं । धादिङकाे सदरमुकाम धादिङबेसीमा प्रहरीले मोटरसाइकल चालकलाई लाठीचार्ज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । महिला प्रहरी सहायक निरीक्षक (असई)ले एक जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडियोमा देखिन्छ । घटना मंगलबार साँझको हो । महिला असईसँगै रहेका छन्, अरु दुई प्रहरी । मोटरसाइकल रोकेर ति असईले असभ्य भाषामा ‘तँ कहाँ जान लागेको, लकडाउन छ भन्ने थाहा थिएन् ?’ भन्दै कटवासको लौराले कुटेको भिडियोमा देखिन्छ ।

मोटरसाइकल चालक समस्या परेर सड्कमा निस्केको हो कि होइन भन्नेबारे नबुझी बल प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले भिडियोबारे आफूले भर्खरै सुनेको भन्दै भिडियो हेर्न नपाएको बताए । ‘कोही जरुरी काममा निस्केको छ भने त हामीले छाडेका छौं, तर अनावश्यक निस्कनेलाई चाहिँ कारवाही गरिएको छ’ रेग्मीले भने–‘भिडियोको वास्तविकता के हो म बुझ्छु ।’