Breaking: पुख्यौली घर नुवाकोट भएका प्रा. डा. बिष्णु पौडेलको अमेरिकाकामा निधन

भर्जिनिया, अमेरिकाका उच्च पदस्थ राजनीतिज्ञहरु माझ प्रभावशाली व्यक्तित्व ८९ बर्षका प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन भएको छ । उहाँको आज विहान ११ बजे आफ्नै निवासमा निधन भएको त्यहाँबाट मेदिनी अधिकारीले जानकारी दिनुभयो । दुई छोरी र एकछोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आउनुभएको थियो । डाक्टर प्रमिला पौडेलले अमेरिकी विदेश मन्त्रालयमा पूर्व बरिष्ठ अर्थशास्त्री हुनुहुन्छ ।उहाँको विहान बसेकै कुर्सीमा निधन भएको जनाइएको छ ।

नर्सले पटकपटक बोलाउँदा पनि नबोलेपछि नजिक गएर हेर्दा उहाँको मृत्यु भइसकेको थियो । तत्काल फेयरफ्याक्स अस्पतालमा लगिएकोमा अस्पतालले उहाँलाई मृत घोषणा गरेको हो । उहाँको पुख्यौली घर नुवाकोट हो ।५० बर्ष भन्दा अगाडि अमेरिका आउनु भएका प्रा.डा. पौडेल अत्यन्तै क्रियाशील र सक्रिय हुनुहुन्थ्यो । नेपाली समुदायमा एक होनहार र प्रतिभाशाली छवि वनाउनु भएका प्रा.डा. पौडेलले नेपाली लगायत विभिन्न एसियन अमेरिकन संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।स्व. पौडेल अंग्रेजी, संस्कृत, नेपाली, हिन्दी लगायत अन्य केही स्थानीय भाषाका ज्ञाता हुनुहुन्थ्यो ।

स्व. पौडेलले साउथ एशिया क्षेत्रको नीति अध्ययनमा ह्वाइट हाउसलाई परामर्श दिने टोलीलाई दुई कार्यकाल नेतृत्व गर्नु भएको थियो। उहां नेपाल शिक्षा तथा सांस्कृति केन्द्र (एनईसीसी) को बोर्ड अफ ट्रस्टी (गुठी सदस्य) पनि हुनुहुन्थ्यो ।उहांले भर्जिनियाको फेयरफ्याक्स स्थित चर्चित दुर्गा मन्दिरको संचालन समितिमा दुई कार्यकालसम्म नेतृत्व गर्नु भएको थियो ।नेपालवाट धेरै पहिले अमेरिका आउनेमध्येका एक स्व. पौडेललाई समुदायले सदैव एक बौद्धिक व्यक्तित्वको रुपमा हेर्नेगर्थ्यो । तार्किक शक्ति, प्रवचन, ज्ञानगुनका कुरामा निकै गहिरो ज्ञान राख्नुहुने पौडेलको निधनले नेपाली समुदायलाई अपूरणीय क्षति भएको छ र समाजले एक सामाजिक अभियन्ता गुमाएको छ ।