भक्तपुरमा भिषण हावाहुरी

भक्तपुर – अहिले भक्तपुरमा हावाहुरी चलिरहेको छ । त्यस्तै काठमाडौं र उपत्यकाका उत्तर-पश्चिम तथा नुवाकोट, धादिङ र रसुवामा बिहानै मेघगर्जन, वर्षा र हावाहुरी सुरु भइसकेको छ । मौसविद् का अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।मौसम महाशाखाले आफ्नो वेबसाइटमा पनि बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

तराई क्षेत्रमा भने मौसम आंशिक (घाम बादल घाम) मात्र बदली भएको र देशका बाँकी सबै स्थानमा मौसम सामान्य बदली रहने छ । स्थानीय वायु तथा पश्चिमी वायुसमेतको संयुक्त प्रभावले मौसम बदली भएको हो। अहिले नेपालमा प्रिमनसुन चलिरहेको छ। यो हावाहुरी, मेघगर्जन र चट्याङको बढी हुने मौसम हो। बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा पानी पर्नेछ । अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सि देशभरिकै मौसम सामान्यतया बदली भइ देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने उहाँले बताउनुभयो ।