बाँकेको दशगजा क्वारेन्टाइनका १ सय ८१ मा कोरोना नेगेटिभ

नेपालगन्ज, बैशाख ४ । लकडाउनकै समयमा भारतबाट नेपाल प्रवेश गरेर बाँकेको दशगजामा क्वारेन्टाइनमा बसेका सबै १ सय ८१ जनामा कोरोना नेगेटिभ देखिएको छ । आज र्यापिड डायग्नोष्टिक टेष्ट किटबाट परिक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।सीमामा अलपत्र परेका उनीहरुलाई दशगजामै क्वारेन्टाइन बनाएर राखिएको थियो । उनीहरुलाई अब सम्बन्धित ठाउँमा पठाइने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो । यहाँ विभिन्न २५ जिल्लाका ब्यक्ति बसेका थिए ।

यो संगै जिल्लामा पिसिआर र आरडिटी विधिबाट अहिलेसम्म परिक्षण गरिएका सबै ४ सय ६० जनामा कोरोना नेगेटिभ देखिएको छ ।स्वाब संकलन गरेर पिसिआर विधिबाट परिक्षण गरिएका ७६ जना र क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेका ३ सय ८४ जनामा आरडिटी किटबाट कोरोमा परिक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको नमुना परिक्षणलाई तिब्रता दिइएको छ ।बाँकेमा अब क्वारेन्टाइनमा १ सय २३ जना छन् । त्यस्तै जिल्लाका विभिन्न ३ अस्पतालको आइसोलेसनमा रहेका थप १५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि भैरहवा पठाइएको छ ।