स्थानीयले प्रहरीलाई नटेरेपछि भैरहवमा सेना खटाईयो

भैरहवा, लकडाउनका बेला स्थानीयले प्रहरीलाई नटेरेपछी भैरहवामा नेपाली सेनालाई सडकमा खटाइएको छ। लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिएको जनाएको छ । लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा बिनाकाम सडकमा निस्कने क्रम बढेपछि नियन्त्रण गर्न नेपाली सेनाको सहयोग लिईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । स्थानीयको चहलपहल बढ्यो वहाहरुलाई पटकपटक बाहिर ननिस्कन अनुरोध गर्दा पनि मान्नु भएन त्यसैले नेपाली सेनाले गर्ने नियमित गस्ती बढाएको हो सेना परिचालन नै नभनौ प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो ।

‘सेनाको सुरक्षा गस्ती बढाइएको छ । आवश्यकता अनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि हुन्छ ।’ उहाले भन्नुभयो ।सेना नै सडक चेकजाँचमा आएपछि भैरहवामा लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । केही दिनयता नेपाल प्रहरीको सुरक्षा तैनाथी बढेको भए पनि प्रभावकारी हुन सकेको थिएन। सेनाले सरकारले निर्दिष्ट गरेका सवारीसाधन एम्बुलेन्स, सुरक्षाका गाडीहरु, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी बाहेक अन्यलाई कडाइका साथ रोक्न सुरु गरेको छ।दिनभर सुनसान हुने भैरहवामा बिहान–साँझ भने निकै चहलपहल बढेको छ।

भैरहवाको गल्लामण्डी, हनुमान मन्दिर, शान्तिनगर, खजुरीया, भैरहवा गाउँ, डाँडागाउँ, बिपीपथ, उदयपुर, गोलीगढ क्षेत्रका पसलहरु निर्वाध चलिरहेका छन् ।भैरहवा भारतीय सहर सुनौलीसँग जोडिएको छ। भारतीय नागरिक पनि नेपाल प्रवेश गर्न सक्ने भन्दै सशस्त्र प्रहरी बलले सीमामा थप सुरक्षा तैनाथी बढाएको छ। सीमावर्ती भारतीय क्षेत्रमा कोरोनाको संक्रमण बढेपछि भारतीयहरु विभिन्न बहानामा नेपाल प्रवेश गर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रबाट कसैलाई पनि आवतजावत गर्न नदिने गरी सुरक्षा तैनाथी गरिएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताउनु भयो।तस्बिर : फाइल